काठमाडौं । हरि लम्साल निर्देशित फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरको केन्द्रमा बुवाको संघर्ष, त्याग र बलिदानलाई राखिएको छ । सन्तानको सुख र भविष्यका लागि बुवाले गर्ने संघर्ष तथा जुनसुकै त्याग गर्न तयार हुने भावनालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
सन्तानको भविष्यका लागि जीवनभर संघर्ष गर्ने बाबुआमाको योगदान बिर्संदै जाने बदलिँदो सामाजिक यथार्थलाई पनि फिल्मले उठाएको देखिन्छ । आफू जन्मिएको र हुर्किएको भूमि तथा आफूलाई योग्य बनाउने बाबुआमालाई नै भुल्ने प्रवृत्तिलाई ट्रेलरले कथाको महत्वपूर्ण पाटो बनाएको छ ।
सन्तानको खुसीका लागि आफू बसेको घरसमेत बेच्न तयार हुने बुवाले आफ्नै सन्तानबाट पाउने पीडा र त्यसपछि आउने परिस्थितिलाई ट्रेलरमा देखाइएको छ । सन्तानले दिएको चोट सहन नसकेपछि बुवाले गर्ने कठोर निर्णयलाई भने ट्रेलरले सस्पेन्समा राखेको छ ।
‘जब खुसी हराउँछ र परिवार टुक्रिन्छ, त्यसपछि के बाँकी रहन्छ ?’ भन्ने प्रश्नसँगै परिवारको मुख्य अभिभावक तथा फिल्मको प्रमुख पात्रले गर्ने निर्णयलाई ट्रेलरले कौतुहलताको विषय बनाएको छ । क्लाइमेक्समा के हुन्छ भन्ने प्रश्न दर्शकमाझ छाड्दै ट्रेलर समाप्त हुन्छ ।
‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती फिल्मको मुख्य कथा रहेको निर्माण पक्षले जनाएको छ । कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा फिल्म प्रदर्शनमा आउन लागेको हो ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ ।
हरि लम्सालकै लेखन तथा निर्देशन रहेको यो उनको फिचर फिल्म निर्देशनमा डेब्यु हो । नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका लम्साल संगीतकारसँगै रचनाकार र गायकसमेत हुन् । फिल्मको कथा र पटकथा पनि उनले नै लेखेका हुन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन् ।
शिवराम श्रेष्ठको छायांकन तथा तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।