काठमाडौं । निर्देशक प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले आकृतिलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका छन् ।
पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ ।
फिल्मको घोषणा गर्दा यसको नाम ‘मेरो अधुरो प्रेम’ राखिएको थियो । हाल उक्त नाम होल्ड गर्दै ‘मायालु’ नामबाट फिल्मको निर्माण प्रक्रिया अघि बढाइएको निर्देशक पौडेलले बताए । ‘मायालु’ प्रदर्शनपछि ‘मेरो अधुरो प्रेम’ नाममा पनि फिल्म निर्माण गरिने उनको भनाइ छ ।
आकृतिका लागि ‘मायालु’ दोस्रो फिल्म हो । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छन् । ‘मुक्तिपुर’ प्रदर्शनमा आउनुअघि नै उनी नयाँ फिल्ममा जोडिएकी हुन् । नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकी मोडलसमेत हुन् ।
मुख्य अभिनेत्रीका रूपमा आकृति फाइनल भएसँगै फिल्मका लागि सहायक अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए ।
“हामीले मुख्य अभिनेत्रीमा आकृति बुढाथोकीलाई टिममा जोडेका छौं । अब सहायक अभिनेत्रीको खोजीमा छौं,” उनले भने ।
यसअघि नै फिल्मको मुख्य अभिनेताका रूपमा कबीर खड्का अनुबन्धित भइसकेका छन् । निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ । पौडेलकै कथा रहेको फिल्मको पटकथा अनिल कुर्मीले लेख्नेछन् ।
मुख्य कलाकारबाहेक अन्य कलाकार अस्ट्रेलियाबाटै छनोट गरिने निर्देशक पौडेलले बताए । फिल्मको छायांकन नेपाल र अस्ट्रेलियामा हुनेछ भने छायांकन अस्ट्रेलियाबाट सुरु गर्ने तयारी छ ।
साउनमा छायांकन सुरु गर्ने योजना भए पनि कलाकारहरूको भिसा प्रक्रियाका कारण निर्धारित समयमा काम अघि बढ्न सकेन । अब भने दशैंपछि छायांकन सुरु गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए । फिल्मको छायांकन शरद महतोले गर्नेछन् ।
सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र रावलको लगानी रहनेछ । रावलले दर्शकमाझ सुन्दर प्रेमकथा प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माणमा लगानी गरेको बताए । फिल्मका सह-निर्माता विवेक पौडेल हुन् ।
शिवाकर प्रसाईं कार्यकारी निर्देशक रहेको फिल्ममा सुनिल निउरे मुख्य सहायक निर्देशक र बमबहादुर थापा एसोसिएट निर्देशकका रूपमा जोडिएका छन् । फिल्ममा अनमोल थापाको संगीत रहनेछ ।