‘पाँच पाण्डव’को डल्बी एट्मस स्वरांकन सुरु

0 Shares

काठमाडौं । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन सुरु भएको छ । तिहारमा प्रदर्शनको तयारीमा रहेको फिल्मको स्वरांकन बिहीबारदेखि म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा सुरु गरिएको हो ।

गौशाला–पिङ्गलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा फिल्मका सम्पूर्ण कास्ट तथा क्रूको उपस्थितिमा स्वरांकन थालिएको हो । फिल्मका मुख्य कलाकार हरिवंश आचार्यले स्वरांकनको सुरुवात गरेका थिए ।

निर्माण पक्षले फिल्मको सम्पूर्ण साउन्ड पोस्ट–प्रोडक्सन डल्बी एट्मस प्रविधिमा गर्ने जनाएको छ । यससँगै दर्शकले ‘पाँच पाण्डव’लाई पूर्ण डल्बी एट्मस साउन्ड अनुभवसहित हेर्न पाउनेछन् ।

निर्देशक वसन्त निरौलाका अनुसार फिल्मको पोस्ट–प्रोडक्सनको काम सुरु भएसँगै स्वरांकन अघि बढाइएको हो ।

“हामीले पोस्टको काम सुरु गरेसँगै स्वरांकन गर्न थालेका छौं । हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौं,” निरौलाले भने, “दर्शकलाई साउन्डको फरक टेस्टसहित प्राविधिक रूपमा पनि अब्बल फिल्म दिनेछौं, जुन फिल्ममा देखिने र महसुस हुने छ ।”

नेपाली संगीत क्षेत्रमा चार दशकदेखि सक्रिय म्युजिक नेपालले गत वर्ष माघदेखि करिब १० करोड रुपैयाँ लगानीमा नेपालकै पहिलो डल्बी एट्मस–मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको हो ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको ‘पाँच पाण्डव’मा नेपाली फिल्म क्षेत्रका स्थापित तथा नयाँ पुस्ताका चर्चित कलाकार एकसाथ देखिँदैछन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला फिल्मका मुख्य पाँच पात्रको भूमिकामा छन् ।

त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरी र सीता न्यौपाने लगायत कलाकारको पनि महत्वपूर्ण भूमिका छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । नवीन श्रेष्ठले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलका अनुसार यो सामाजिक कथामा आधारित फिल्म हो, जसले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

झापा र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक, पुकार धिमालको भीएफएक्स, रोहित राज गौतमको एचओपी र विष्णु बुढाथोकीको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ ।

तिहारमा प्रदर्शनमा आउने ‘पाँच पाण्डव’को देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ । नाम, कथा र मल्टीस्टारकास्टका कारण फिल्मलाई प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार

सबै