‘जदौ’को टिजरमा युवापुस्ताको प्रेम र अभिभावकबीचको द्वन्द्व

0 Shares

काठमाडौं, ६ भदौ । अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’को टिजर सार्वजनिक भएको छ । हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको करिब एक मिनेट लामो टिजरमा युवापुस्ताको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको टिजरले फिल्मको कथामा युवा र पुरानो पुस्ताबीचको सोचको अन्तरलाई पनि संकेत गरेको छ । टिजरमा अभिनेता प्रभातपाल ठकुरीको पात्र अभिनेत्री नीति शाह र राजश्री थापाको पात्रसँग प्रेमसम्बन्धमा रहेको देखाइएको छ । अभिभावक पुस्ताको प्रतिनिधित्व भने अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।

असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’लाई अन्तरजातीय प्रेमजोडीको सामाजिक कथाका रूपमा प्रस्तुत गरिएको छ । निर्देशक अन्जन शर्माका अनुसार नेपाली समाजमा व्याप्त जातीय विभेदका कारण उत्पन्न हुने समस्या र त्यसको निराकरणका लागि चालिने कदमलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले मनोरञ्जनसँगै जातीय विभेद र असमानताबीचको दूरी कम गर्न सन्देश दिने प्रयास फिल्ममा गरिएको बताए ।

समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापासँगै विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की र स्वस्तिका चौधरीलगायतका कलाकारको अभिनय छ ।

फिल्मका गीतमा प्रीति कौर, बाबुल गिरी र गोपाल लोहारको शब्द, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर रहेको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माता रहेको फिल्मका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन् । शान्ति पुडासैनी कार्यकारी निर्माता तथा बिमला भण्डारी प्रोडक्सन हेड छन् ।

‘जदौ’को देशव्यापी वितरण एनजिसिएन ग्रुपले गर्नेछ ।

सम्बन्धित समाचार

सबै