समीक्षा अधिकारीलाई डेढ वर्षदेखि हैरानी, ‘५०० भन्दा बढी नम्बर ब्लक गरेँ’

0 Shares

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई करिब डेढ वर्षदेखि एक व्यक्तिले फरक–फरक मोबाइल नम्बरबाट निरन्तर फोन गरेर हैरान पारिरहेको बताएकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत अधिकारीले अहिलेसम्म ५०० भन्दा बढी फरक–फरक नम्बरबाट आएका अनावश्यक फोन ब्लक गरिसकेको उल्लेख गरेकी छन् ।

उनका अनुसार फोन उठाउँदा ती व्यक्तिले आफ्नो नाम ‘रमेश शाही’ बताउने गरेका छन् । तर, फोन गर्नुको उद्देश्यबारे सोध्दा आफ्नो नामबाहेक स्पष्ट जानकारी नदिने अधिकारीको भनाइ छ ।

“फोन उठाउँदा ‘म रमेश शाही’ भन्नुहुन्छ, तर ‘के कामले फोन गर्नुभएको?’ भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न । एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ,” उनले लेखेकी छन् ।

एउटा नम्बर ब्लक गरेपछि ती व्यक्तिले अन्य व्यक्तिको मोबाइल नम्बर प्रयोग गरेर समेत फोन गर्ने क्रम जारी राखेको अधिकारीले बताएकी छन् ।

“डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला । अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनुभएको छ । एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन,” उनले भनेकी छन् ।

लगातारको फोनबाट हैरानी भएपछि आफूले यो विषय सार्वजनिक गर्न बाध्य भएको अधिकारीले बताएकी छन् । साथै, आफ्नो मोबाइल नम्बर विना सोचविचार अरू व्यक्तिलाई उपलब्ध नगराउन उनले आग्रह गरेकी छन् ।

कसैले आफ्नो नम्बर मागेमा त्यसको उद्देश्य बुझेर मात्र उपलब्ध गराउन उनले अनुरोध गरेकी छन् ।

“यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि होइन, तर लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले लेखेकी हुँ । सबैले यस विषयलाई गम्भीर रूपमा बुझिदिनुहोला,” अधिकारीले लेखेकी छन् ।

सम्बन्धित समाचार

सबै