महेश–अञ्जनाको ‘आशा’को छायांकन सकियो, माघे संक्रान्तिमा प्रदर्शन

0 Shares

काठमाडौं । सुपरहिट फिल्म ‘परान’का जोडी महेश त्रिपाठी र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’को छायांकन पूरा भएको छ । निर्मात्री शर्मिला थापाका अनुसार फिल्मको छायांकन ३१ दिनमा सकिएको हो ।

फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल नगरपालिकाका विभिन्न स्थानमा गरिएको छ ।

छायांकन सम्पन्न भएको अवसरमा आयोजित इन्डक्ल्याप समारोहमा प्राविधिक अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोगसमेत गरिएको छ । फिल्ममा स्पोर्ट्स ब्वायका रूपमा काम गरेका घिमिरेकी श्रीमती रक्त क्यान्सरबाट पीडित रहेको जानकारी पाएपछि पारिश्रमिकबाहेक उपचारका लागि उक्त रकम सहयोग गरिएको निर्मात्री थापाले बताइन् ।

राजीव गुरुङको निर्देशनमा बनेको फिल्ममा महेश त्रिपाठी र अञ्जना बराइलीसँगै शुशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारको अभिनय छ । बाल कलाकारका रूपमा चिराग श्रेष्ठ र काश्वी भण्डारीले अभिनय गरेका छन् ।

निर्देशक गुरुङकै कथा तथा लेखन रहेको फिल्ममा रामकुमार श्रेष्ठको सहलेखन छ । फिल्मले एउटा परिवारको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा युग भुसाल र समीर खरेलको संगीत छ । फिल्मको सम्पादन लोकेश बज्राचार्यले गर्नेछन् ।

माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शनमा आउने ‘आशा’को देशव्यापी वितरण करण श्रेष्ठ नेतृत्वको रिच इन्टरटेनमेन्टले गर्नेछ ।

सम्बन्धित समाचार

सबै