‘गौँथली’को कमाइ २५ करोड पार, ‘हली’ र ‘लज्जावती’ले कति कमाए?

0 Shares

गत साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँको आँकडा पार गरेको छ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार ‘गौँथली’ले भदौ ७ गते आइतबारसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मले उक्त रकम ९ लाख ९ हजार ४२६ वटा टिकट बिक्रीबाट हासिल गरेको हो।

सर्वकालीन दोस्रो धेरै कमाउने फिल्मको कीर्तिमान बनाइसकेको ‘गौँथली’ले पछिल्लो सात दिनमा मात्रै डेढ करोड रुपैयाँभन्दा बढी कमाएको छ। प्रदर्शनको पाँचौँ हप्तामा समेत फिल्मको व्यापार बलियो देखिएपछि दर्शकमाझ यसको आकर्षण अझै कायम रहेको संकेत मिलेको छ।

यद्यपि, अब ‘गौँथली’का लागि सबैभन्दा ठूलो चुनौती भदौ १० गतेदेखि प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘टक्सिक’ बन्ने देखिएको छ।

बोर्डले ‘गौँथली’सँगै साउनमा प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘हली’ र ‘लज्जावती’को बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ।

साउन २२ गते रिलिज भएको ‘हली’ले भदौ ७ गतेसम्म २२ लाख ९३ हजार ९२० रुपैयाँ ग्रस कमाएको छ। अघिल्लो साताको तुलनामा फिल्मको कमाइ १ लाख १६ हजार रुपैयाँले मात्र बढेको हो। फिल्मका हालसम्म ८ हजार ३८५ वटा टिकट बिक्री भएका छन्।

त्यस्तै, साउन २९ गतेदेखि प्रदर्शनमा आएको ‘लज्जावती’ले भदौ ७ गतेसम्म ७ लाख ६८ हजार ४५० रुपैयाँ ग्रस कमाएको छ। बोर्डका अनुसार फिल्मका २ हजार ६९६ वटा टिकट बिक्री भएका छन्।

साउनमा रिलिज भएको अर्को फिल्म ‘कमला मिस’को भने दोस्रो साताको बक्स अफिस विवरण बोर्डले सार्वजनिक गरेको छैन। यसबाट फिल्म पहिलो सातापछि नै सम्पूर्ण हलबाट उत्रिएको देखिन्छ।

सम्बन्धित समाचार

सबै