काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ तेस्रोलिंगी समुदायको कथा मात्रै नभएको निर्माणपक्षले स्पष्ट पारेको छ। फिल्मको ट्रेलरमा तेस्रोलिंगी समुदायका धेरै पात्र देखिए पनि कथा उनीहरूको जीवनमा मात्र सीमित नरहेको निर्माता अनुप पौडेलले बताएका छन्।
“यो फिल्म किन्नर समुदायभित्र रहेका पात्रहरूको कथा हो। तर तेस्रोलिंगी पात्र धेरै भएको फिल्म भनेर मात्र बुझ्दा यसको कथा र अर्थ साँघुरो हुन्छ,” निर्माता पौडेल भन्छन्।
उनका अनुसार फिल्मकी मुख्य पात्र पिरती किन्नर समुदायकी महिला हुन्। उनी आफ्नो समुदाय, छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी छन्।
पौडेलले फिल्मलाई तेस्रोलिंगी समुदायको कथामा मात्रै सीमित गरेर हेर्दा अन्य पात्र, उनीहरूको संघर्ष र जीवनका महत्वपूर्ण पक्ष ओझेलमा पर्न सक्ने बताए।
“किन्नर समुदायको हुनु वा लैंगिक अल्पसंख्यक समुदायको हुनु पिरतीको पहिचानको एउटा ठूलो पाटो हो। तर पिरती, अन्य पात्र र कलाकारहरूको अनुभव तथा जीवनलाई त्यतिमै सीमित राख्यौं भने फिल्मले भन्न खोजेको कुरा नै हराउँछ,” उनले भने।
उनका अनुसार ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ मूलतः आमा र छोरीको सम्बन्धको कथा हो। हराएकी छोरीको खोजीमा एउटी आमाले के गर्छिन् र आफ्नो सन्तानका लागि कहाँसम्म पुग्न सक्छिन् भन्ने विषय फिल्मको केन्द्रमा रहेको उनले बताए।
फिल्मले परिवार, नाता र सम्बन्धसँगै समाजले निर्माण गरेका सीमालाई पनि केलाउने पौडेलको भनाइ छ। उनका अनुसार प्रेम र मातृत्व कुनै एउटा लैंगिक समुदायमा मात्र सीमित विषय होइन।
“किन्नर समुदाय फिल्मको अत्यन्त महत्वपूर्ण हिस्सा हो, तर कथा त्यतिमै सीमित छैन। हाम्रा मुख्य पात्रहरू उक्त समुदायबाट हुनुहुन्छ, तर फिल्ममा अन्य समुदाय र पृष्ठभूमिका कलाकारहरू पनि प्रशस्त हुनुहुन्छ,” पौडेलले स्पष्ट पारे।
कान्ससहित विश्वका ठूला अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ अब नेपालमा प्रदर्शनको तयारीमा छ। अविनाश विक्रम शाहले निर्देशन गरेको फिल्मको पटकथा पनि शाहकै हो। फिल्मको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्।
कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड पाएपछि फिल्म घरेलु दर्शकमाझ पनि प्रतीक्षित बनेको छ।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथालाई पृष्ठभूमि बनाइएको फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण गरिएको हो।
फिल्मका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।
चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको फिल्ममा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्।
अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता रहेका छन्।