काठमाडौं । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ भदौ १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ।
गणेशमान फाउन्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा मञ्चन हुने नाटक नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, संघर्ष, त्याग, साहस र निष्ठामा आधारित छ। नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रंगकर्मी अशेष मल्लले गरेका छन्।
निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा मात्र आधारित नाटक होइन। यो निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा पनि हो।
करिब पाँच दशक लामो आफ्नो रंगमञ्च यात्रामा पहिलोपटक यस किसिमको यथार्थपरक नाटक निर्देशन गर्न लागेको मल्लले बताए। बिम्ब र प्रतीकसँग खेल्ने आफ्नो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक रहेको उनको भनाइ छ।
“एउटा निष्ठावान्, इमानदार र सच्चरित्र योद्धाको तेस्रो आयाम दर्शकसम्म पुर्याउने प्रयासस्वरूप मैले यो नाटक निर्देशन गरेको हुँ,” मल्लले भने।
नाटकमा निरंकुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गरेको संघर्ष, भद्रगोल जेलको जीवन तथा करिब ६ फिट अग्लो जेलको पर्खाल नाघेर गरेको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डसमेत बेवास्ता गर्दै निरन्तर संघर्ष गरेका सिंहको त्याग, साहस र अडिग निष्ठालाई नाटकले रंगमञ्चमार्फत जीवन्त बनाउने प्रयास गरेको निर्माणपक्षले जनाएको छ।
त्यस्तै, २०४६ सालको जनआन्दोलन सफल भएपछि गणेशमान सिंहले प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक घटनालाई पनि नाटकको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको छ।
व्यक्तिगत स्वार्थ, परिवार, पार्टी, पद र सत्ताभन्दा माथि देश, जनता, अधिकार र स्वतन्त्रतालाई प्राथमिकता दिने गणेशमान सिंहको राजनीतिक दर्शनलाई नाटकले उजागर गर्ने जनाइएको छ।
‘वीर गणेशमान’ प्रस्तुत गर्ने सर्वनाम नेपालका अग्रणी तथा ऐतिहासिक रंगमञ्च समूहहरूमध्ये एक हो। वि.सं. २०३८ सालमा स्थापना भएको सर्वनाम विगत ४५ वर्षदेखि नेपाली रंगमञ्चको विकास, प्रवर्द्धन र संरक्षणमा सक्रिय छ।
पञ्चायती व्यवस्था र निरंकुशताविरुद्ध नाट्यकलामार्फत आवाज उठाउँदै आएको सर्वनामले सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धिमा समेत भूमिका खेल्दै आएको छ। नेपालमा संस्थागत रूपमा सडक नाटकको सुरुवात गर्ने श्रेय पनि सर्वनामलाई दिइन्छ।
सरकारी वा बाह्य निकायको अनुदानमा निर्भर नभई आफ्नै श्रम, पसिना र समर्पणबाट नाट्यगृह निर्माण गरेको सर्वनामलाई नेपाली रंगमञ्चमा आत्मनिर्भरता र संस्थागत निरन्तरताको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
सर्वनामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्नुका साथै नयाँ पुस्ताका रंगकर्मीलाई प्रवर्द्धन गर्न नियमित नाटक मञ्चन, कार्यशाला तथा नाट्य प्रशिक्षण सञ्चालन गर्दै आएको छ।
‘वीर गणेशमान’मार्फत नेपाली इतिहासको महत्वपूर्ण अध्यायलाई नयाँ पुस्तासम्म पुर्याउँदै देश, जनता, स्वतन्त्रता र निष्ठाको मूल्यलाई पुनः स्मरण गराउने प्रयास गरिएको सर्वनामले जनाएको छ।