काठमाडौं । अभिनेत्री सुहाना थापाले फिल्म ‘बा : एक योद्धा’ आफूले अहिलेसम्म गरेका कामभन्दा फरक र रोचक रहेको बताएकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हेर्न दर्शकलाई आग्रह गर्दै उनले यसमा परिवार र अभिभावकको त्यागसँग जोडिएको भावनात्मक कथा रहेको बताइन्।
फिल्ममा आफ्नो पात्र पनि फरक रहेको सुहानाको भनाइ छ। उनका अनुसार ‘बा : एक योद्धा’मा सन्तानको भविष्यका लागि बुवा–आमाले गर्ने त्याग र संघर्षलाई प्रस्तुत गरिएको छ।
“हामी सबैलाई हाम्रा बाबा–आमाले हाम्रा लागि गर्नुभएको त्याग याद हुन्छ। तर, हामी त्यो कुरा बाबा–आमासामु खुलेर भन्न सक्दैनौँ,” सुहानाले भनिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी त्याग गर्नुभएको छ भन्ने कुरा परिभाषित गरिदिएको छ।”
फिल्ममा दर्शकसँग जोडिने र रमाइलो पक्ष पनि रहेको उनले बताइन्। आफ्नै कथाजस्तो महसुस हुने भएकाले फिल्मले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्ने उनको विश्वास छ।
भदौ १९ गतेदेखि प्रदर्शनमा आउने ‘बा : एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य विषय बनाएको छ। फिल्म कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।
फिल्ममा सुहाना थापासँगै दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा : एक योद्धा’ उनको फिचर फिल्म निर्देशनमा डेब्यु हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय गीत दिएका लम्साल रचनाकार तथा गायकसमेत हुन्। फिल्मको कथा र पटकथा पनि उनले नै लेखेका छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्।
शिवराम श्रेष्ठले छायांकन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। ‘बा : एक योद्धा’को वितरण आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।