युट्युबमा ‘झिंगे दाउ’को हंगामा, ‘झिंगे दाउ २’मा केकी–आँचलको जेठानी–देउरानी झगडा

0 Shares

काठमाडौं । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ’ले युट्युबमा आक्रामक भ्यूज पाइरहेको छ। रिलिजको दुई दिन नबित्दै फिल्मले २१ लाखभन्दा बढी भ्यूज पाएको हो।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ‘झिंगे दाउ’ले डिजिटल प्लेटफर्ममा पनि राम्रो प्रभाव देखाएको छ। यसअघि बक्स अफिसमा समेत सुखद व्यापार गरेको फिल्मको युट्युब प्रदर्शनले यसको लोकप्रियता थप पुष्टि गरेको छ।

पहिलो भागले युट्युबमा राम्रो भ्यूज पाइरहेका बेला ‘झिंगे दाउ २’को भने तीज गीतको छायांकन गरिएको छ। तीजलाई लक्षित गरेर तयार गरिएको शीर्ष गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा रातो सारीमा छमछमी नाचेका छन्।

गीतमा दुई अभिनेत्रीले नृत्यसँगै जेठानी–देउरानीको झगडालाई पनि प्रस्तुत गरेका छन्। मादलको तालमा नाच्दै गरेका केकी र आँचलबीचको झगडालाई गीतको भिडियोको प्रमुख आकर्षण बनाइएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भइरहेको ‘झिंगे दाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ। छायांकन गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्। गीत भदौ १० गते सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ।

गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। केकी र आँचलले गीतले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन्।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन छ। ईश्वर घिमिरे प्रोडक्सन हेड हुन्।

फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको लेखन गोविन्दु फुयाँल र शिशिर चालिसेले गरेका छन्। फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान तानिसकेको छ।

सम्बन्धित समाचार

सबै