काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । उनी फिल्ममा जोडिएसँगै यसको स्टारकास्ट थप बलियो बनेको छ ।
यसअघि फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल अनुबन्ध भइसकेका छन् । अञ्जनाको प्रवेशसँगै फिल्मको मल्टिस्टार लाइनअप थप आकर्षक बनेको निर्माण पक्षको भनाइ छ ।
निर्देशक चौधरीले कथाको माग र दर्शकको रोजाइलाई ध्यानमा राख्दै कलाकार छनोट गरिएको बताए । “सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयासस्वरुप हामीले अञ्जनालाई अनुबन्ध गराएका हौँ,” उनले भने, “दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिने क्रम अझै जारी छ ।”
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा प्रस्तुत गर्ने तयारी छ । फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन् ।
निर्देशक चौधरीले यसपटक आफ्नो अघिल्ला फिल्मको तुलनामा अझ ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन् । निर्माण पक्षले ‘द राइज अफ साम्राज्य’लाई नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म बनाउने दाबी गरेको छ ।
फिल्मको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका बनाएको छ, जसको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् । विश्वास बस्नेत (बेन) को–प्रोडुसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।
मानकृष्ण महर्जन डीओपी रहेको फिल्ममा श्री श्रेष्ठ एक्सन डिरेक्टर छन् । ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर र डिसीएन वितरकको भूमिकामा छन् ।