३५ दिनमा ‘तिरिमिरी झ्याइँ’को छायांकन पूरा

0 Shares

काठमाडौं — हास्यव्यङ्ग्यात्मक नेपाली फिल्म ‘तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन ३५ दिनमा पूरा भएको छ। फिल्मको अन्तिम दृश्य सोमबार कोशी प्रदेशको सुनसरीस्थित बराहक्षेत्रमा खिचिएसँगै निर्माण टोलीले छायांकन चरण पूरा गरेको हो।

निर्माता बोगटीका अनुसार अब फिल्मको सम्पादनलगायत पोस्ट–प्रोडक्सनको काम तत्काल सुरु हुनेछ। उनले ‘तिरिमिरी झ्याइँ’ यसै वर्ष रिलिज गर्ने तयारी रहेको जानकारी दिएका छन्।

आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा निर्माण भइरहेको फिल्म पारिवारिक मनोरञ्जनसँगै सामाजिक विषयवस्तुमा आधारित छ। समकालीन समाजका विभिन्न रमाइला तथा ठट्यौली पक्षलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने फिल्म निर्माण पक्षको भनाइ छ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मबाट ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्। फिल्ममा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका सह–निर्मातामा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा छन्।

विशाल कक्षपतिको छायांकन रहेको फिल्ममा अभिषेक कार्कीले संगीत दिएका छन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन्।

सम्बन्धित समाचार

सबै