काठमाडौँ — नेपाली फिल्ममा एक्सनको छुट्टै पहिचान बनाएका अभिनेता निखिल उप्रेती फेरि एकपटक पर्दामा आफ्नो एक्सनको दम देखाउन तयार भएका छन्। उनको लेखन, निर्माण तथा निर्देशनमा बनेको ‘भैरव’पछि अब निर्देशनमा उनको दोस्रो फिल्म ‘आचार्य’ दर्शकमाझ आउँदैछ। मंगलबार सार्वजनिक गरिएको टिजरले फिल्ममा निखिललाई अझ परिष्कृत र आक्रामक एक्सन अवतारमा प्रस्तुत गरिएको संकेत गरेको छ।
करिब एक मिनेट लामो टिजरमा एक्सनसँगै इमोसनलाई पनि प्राथमिकता दिइएको देखिन्छ। निखिलका फरक–फरक अवतार, आकर्षक स्टन्ट र जोखिमपूर्ण एक्सनले टिजरलाई विशेष बनाएको छ। नेपाली फिल्ममा खतरनाक स्टन्टमार्फत आफ्नो छुट्टै छवि बनाएका निखिलले ‘आचार्य’मा पनि त्यसैलाई निरन्तरता दिएको देखिन्छ।
टिजरमा सामान्यतः नेपाली चलचित्रमा कमै देख्न पाइने स्तरका एक्सन र स्टन्ट समेटिएका छन्। यसले ‘आचार्य’ केवल एक्सनप्रधान फिल्म मात्र नभई एक्सनसँगै भावनात्मक पक्षलाई समेत जोडेर अघि बढेको संकेत गर्छ। टिजर हेर्दा निखिलले आफ्नो एक्सन शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गर्न खोजेको आभास हुन्छ।
‘आचार्य’मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापतिले यही चलचित्रमार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन्। बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय पनि फिल्ममा देख्न सकिनेछ।
सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको फिल्ममा शुक्रराज शाहको एक्सन निर्देशन रहेको छ। बन्दे प्रसादले सम्पादन गरेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।
निर्माण पक्षका अनुसार ‘आचार्य’को आधिकारिक ट्रेलर आगामी असोज १ गते सार्वजनिक हुनेछ। चलचित्र भने असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
टिजरले दिएको संकेतलाई हेर्ने हो भने ‘आचार्य’ निखिल उप्रेतीको एक्सन यात्रामा अर्को एउटा महत्त्वपूर्ण अध्याय बन्ने देखिन्छ। अब टिजरमा देखिएको एक्सनको प्रभाव पर्दामा कति दमदार साबित हुन्छ, त्यसका लागि भने असोज ९ गतेसम्म कुर्नुपर्नेछ।