काठमाडौं । नेपाली संगीतको चर्चित ब्याण्ड १९७४ एडी (1974 AD) ले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ। यसपटक ब्याण्डले ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने तयारी गरेको हो।
रोटेपिङ इन्टरटेनमेन्टले बिहीबार ललितपुरस्थित मोक्क्ष लाउन्जमा पत्रकार भेटघाट आयोजना गर्दै टुरको औपचारिक घोषणा गरेको हो। आयोजकका अनुसार टुर सेप्टेम्बर २३ बाट सुरु भई सेप्टेम्बर र अक्टोबरसम्म सञ्चालन हुनेछ।
टुरअन्तर्गत १९७४ एडीले सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, न्यु क्यासल, अकल्यान्ड र क्यानबेरा गरी आठ प्रमुख सहरमा प्रस्तुति दिनेछ। आयोजकका निर्देशक राजेश घिमिरेका अनुसार टुरको तयारी लगभग पूरा भइसकेको छ।
करिब २० वर्षअघि काठमाडौंको त्रिभुवन रंगशालामा आयोजना गरिएको ‘रक यात्रा’ नेपाली सांगीतिक इतिहासकै चर्चित कन्सर्टमध्ये एक मानिन्छ। उक्त कार्यक्रममा ५० हजारभन्दा बढी दर्शक सहभागी भएको बताइन्छ। टिकट नपाएर धेरै दर्शक फर्किनुपरेको उक्त कन्सर्टको चर्चा अहिले पनि नेपाली संगीत क्षेत्रमा हुने गरेको छ।
यसपटकको टुरमा १९७४ एडीले दुई दशकअघि ‘रक यात्रा’मा प्रस्तुत गरेको चर्चित सेट लिस्टका गीतलाई समेत समावेश गर्ने तयारी गरेको छ। पुराना लोकप्रिय गीतमार्फत ब्याण्डको सांगीतिक यात्रालाई पुरानो पुस्तासँग पुनः जोड्नुका साथै नयाँ पुस्तामाझ पनि पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
पत्रकार भेटघाटमा ब्याण्डका प्रमुख भोकलिस्ट एड्रियन प्रधान र फिरोज स्याङदेन, बास गितारिस्ट निराकर याक्थुम्बा तथा लिड गितारिस्ट मनोजकुमार केसी उपस्थित थिए।
एड्रियन प्रधानले लामो समयपछि ‘रक यात्रा’का रूपमा टुर गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए। विभिन्न समयमा टुर गर्दै आए पनि १९७४ एडीको ‘रक यात्रा’लाई पुनः अगाडि बढाउन पाउनु विशेष भएको उनको भनाइ थियो।
फिरोज स्याङदेनले पनि अष्ट्रेलिया टुरका लागि ब्याण्ड निकै उत्साहित रहेको बताए।
यसैबीच, नेपालमा पछिल्लो समय देखिएको दैवीप्रकोपलाई मध्यनजर गर्दै आयोजक रोटेपिङ इन्टरटेनमेन्टले सरकारको प्रकोप राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। निर्देशक राजेश घिमिरेले पत्रकार भेटघाटकै क्रममा उक्त रकम अनलाइनमार्फत भुक्तानीसमेत गरेका थिए। टुर सम्पन्न भएपछि कम्पनीका तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।
१९७४ एडीको यो टुरले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा थप विस्तार गर्नुका साथै विदेशमा रहेका नेपाली दर्शकलाई लामो समयपछि ब्याण्डको सांगीतिक यात्रासँग जोड्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार अष्ट्रेलियापछि ‘रक यात्रा’लाई अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा समेत विस्तार गर्ने योजना छ।