‘ककाकिकी’ सर्‍यो, तृप्ती नाडकर मुम्बई फर्किइन्

0 Shares

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै फिल्म ‘ककाकिकी’को पूर्वनिर्धारित प्रदर्शन स्थगित गरिएको छ। निर्माण कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोले वक्तव्य जारी गर्दै भदौ १९ गते रिलिज हुने भनिएको फिल्म अब मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने जनाएको हो।

निर्माण पक्षले देश दुःखमा रहेका बेला हाँस्ने–हँसाउने तथा अन्य मनोरञ्जनात्मक गतिविधि अघि बढाउन उचित नठानेर फिल्मको प्रदर्शनसँगै सम्पूर्ण प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “दुःखको यस्तो अवस्थामा हाँस्ने, हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि गर्न हामीले सकेनौं। सोही कारण भदौ १९ मा रिलिज हुने हाम्रो फिल्मको रिलिज तथा सम्पूर्ण प्रचारप्रसारका गतिविधि तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।”

श्रद्धा प्रसाईंको निर्देशनमा बनेको ‘ककाकिकी’को रिलिज मिति सरेसँगै फिल्मको प्रचारका लागि नेपाल आएकी अभिनेत्री तृप्ती नाडकर पनि मुम्बई फर्किएकी छन्।

तृप्ती गत श्रावण २७ गते फिल्मको प्रचारप्रसारका लागि नेपाल आएकी थिइन्। करिब २० दिनको काठमाडौं बसाइँमा उनले विभिन्न कार्यक्रम तथा इभेन्टमा अतिथिका रूपमा सहभागिता जनाउनुका साथै थुप्रै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएकी थिइन्।

नेपाल बसाइँकै क्रममा तृप्तीले निर्देशक श्रद्धा प्रसाईंको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘डियर काव्या’मा अभिनय गर्ने सम्झौतासमेत गरेकी छन्।

अब तृप्ती करिब तीन महिनापछि नेपाल फर्किने तयारीमा छिन्। मंसिर ११ गते ‘ककाकिकी’को प्रचारप्रसारलाई निरन्तरता दिन नेपाल आउने र त्यससँगै ‘डियर काव्या’को छायांकनमा समेत सहभागी हुने उनको योजना छ।

 

सम्बन्धित समाचार

सबै