काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि प्रदर्शनरत फिल्म ‘पार्वती’को टिमले ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ र वरिष्ठ पत्रकार प्रकाश सुवेदीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्।
शुक्रबार फिल्मले देशभरको घरेलु बक्सअफिसबाट गरेको २५ लाख ९३ हजार रुपैयाँ ग्रस कलेक्सनमध्ये निर्माताको भागमा आउने रकम कोषलाई प्रदान गरिएको निर्माण पक्षले जनाएको छ।
निर्देशक नीता ढुंगानाले भोटेकोशी बाढीबाट पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रकम सरकारी कोषमा जम्मा गरिएको बताइन्।
उनले भनिन्, “निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ। यो रकमले बाढीपीडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ।”
ढुंगानाले आफूहरूले फिल्मबाट आर्थिक लाभ कमाउने उद्देश्य मात्र नराखी विपद्को समयमा सामाजिक दायित्व निर्वाह गर्न पनि सहयोग गरेको बताएकी छन्। उनले ‘पार्वती’ प्रदर्शनमा रहेसम्मको कमाइबाट ५ प्रतिशत रकम बाढीपीडितका लागि दिने निर्णयसमेत गरेको जानकारी दिइन्।
निर्माता हरिहर अधिकारीका अनुसार पहिलो दिनको आम्दानीबाट निर्माताको भागमा आएको रकम कोषमा जम्मा गरिएको हो। यसबाहेक आफूहरूले छुट्टै रूपमा पनि कोषको क्यूआरमार्फत सहयोग गरेको उनले बताए।
फिल्मका अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार रुपैयाँ राहत कोषमा सहयोग गरेका छन्।
भोटेकोशी बाढीका कारण सयौँ घरमा क्षति पुगेको र ठूलो जनधनको क्षति भएको अवस्थामा फिल्मले अपेक्षाअनुसार दर्शक पाउन नसके पनि निर्माण पक्षले विपद्को अवस्थालाई मध्यनजर गर्दै सामाजिक कार्यलाई प्राथमिकता दिएको जनाएको छ।
यसैबीच, वितरक करण श्रेष्ठका अनुसार ‘पार्वती’ले दोस्रो दिन शनिबार देशभरबाट करिब ४२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। आइतबार र सोमबारको आधिकारिक कलेक्सन भने सार्वजनिक भइसकेको छैन।
फिल्मले सोमबार पनि देशभरका हलमा उल्लेख्य शो पाएको छ। मंगलबारका लागि समेत देशभर १०० भन्दा बढी शो कायम रहेको निर्माण पक्षले जनाएको छ।
नीता ढुंगानाको निर्देशन तथा मुख्य भूमिका रहेको ‘पार्वती’मा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी र राधिका कँडेललगायत कलाकारको अभिनय छ।
नीता ढुंगानाकै कथा तथा पटकथा र शिवम् अधिकारीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे तथा निर्माता हरिहर अधिकारी हुन्। फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले संयुक्त रूपमा गरिरहेका छन्।