चीनका अनुसार नेपालको छोचेन खोलाको इम्प्याक्ट क्रेटर वरिपरि हिमचट्टान भत्किने जोखिम कायमै

0 Shares

काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वरपर रहेका हिमचट्टान तथा हिमखण्ड अझै भत्किने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्तो जोखिमले तल्लो तटीय क्षेत्रमा सम्भावित ठूलो खतरा निम्त्याउन सक्छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले मंगलबार मन्त्रालयलाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो।

मन्त्रालयले दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीसम्बन्धी विपद्का सम्पूर्ण जोखिमको निरन्तर मूल्याङ्कन गरिरहेको जनाएको छ। यसका लागि विशेषज्ञ परामर्श र स्थलगत तथा प्राविधिक अनुगमनलाई निरन्तरता दिइएको छ।

हालै गरिएको रिमोट सेन्सिङ तस्वीरहरूको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयको निष्कर्ष छ।

मंगलबार बिहान नेपाली समयअनुसार ५:४५ बजे खिचिएको ड्रोन तस्वीरका आधारमा नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानीको अधिकांश भाग बगेर निकास भइसकेको देखिएको छ। साथै, तल्लो तटीय क्षेत्रमा नदीको बहाव पनि सामान्य अवस्थामा रहेको बताइएको छ।

तर, क्रेटर वरपर रहेका हिमनदी तथा हिमखण्ड भत्किने जोखिम भने अझै कायम रहेको रिपोर्टमा उल्लेख छ। यही कारण प्रभावित क्षेत्रको जोखिम निरन्तर निगरानी र मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

सम्बन्धित समाचार

सबै