काठमाडौं । मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’को छायांकन आजदेखि सुरु भएको छ । निर्माण टिमले बिहीबार बिहान पशुपति क्षेत्रमा पूजाआजा गर्दै फिल्मको छायांकन प्रारम्भ गरेको हो ।
फिल्मको छायांकन दुई दिन काठमाडौंमा गरिनेछ । त्यसपछि निर्माण टिम दोलखाको जिरी प्रस्थान गर्नेछ, जहाँ करिब एक महिना फिल्मको छायांकन हुने निर्माण पक्षले जनाएको छ ।
नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायतका कलाकारको अभिनय रहनेछ ।
पूजा शर्माको प्रस्तुतिमा बन्न लागेको फिल्मका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाईं र उत्तम हुमागाईंले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने सुनिल निउरे मुख्य सहायक निर्देशकका रूपमा छन् । दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ ।
नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई कथाको मुख्य केन्द्रमा राखेर निर्माण हुन लागेको ‘रत्यौली’लाई निर्माण पक्षले आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ ।