कृष्ण जन्माष्टमीमा ‘अक्षरा’ टिमको बौद्धमा भव्य रथयात्रा

0 Shares

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म **‘अक्षरा’**को निर्माण टिमले प्रचारप्रसारलाई तीव्रता दिएको छ। फिल्म प्रदर्शनमा आउन एक साता मात्रै बाँकी रहँदा निर्माणपक्ष प्रमोसनमा सक्रिय भएको हो।

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार फिल्मको निर्माण टिम तथा कलाकारले काठमाडौंको बौद्धमा भव्य रथयात्रा गरेका छन्। रथयात्रामा फिल्मका मुख्य कलाकार सुशील सिटौला, पुष्कर राउत, निर्देशक विनयराज पौडेल तथा निर्माताहरूको उपस्थिति थियो।

फिल्मको प्रमोसनबारे निर्देशक पौडेलले भने, ‘फिल्मको प्रदर्शन नजिकिँदै गर्दा अब प्रमोसनको कामलाई अगाडि बढाउन थालेका हौँ। फिल्म चल्ने दिन आइसक्यो, प्रमोसन पनि नगरी भएन। गर्नैपर्‍यो।’

गत १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोका कारण स्तब्ध बनेको निर्माण टिमले अहिले फिल्मको प्रचारप्रसारलाई अगाडि बढाएको हो। यसअघि बिहीबार फिल्मकी अभिनेत्री न्यान्सी खड्काले नुवाकोटका विभिन्न स्थानमा पुगेर बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गरेकी थिइन्।

विनयराज पौडेल निर्देशित फिल्ममा न्यान्सी खड्काका अलावा सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

दिपेन बस्न्यातको छायांकन रहेको फिल्मलाई गौतम खड्काले सम्पादन गरेका हुन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना फिल्मका निर्माता हुन्।

सम्बन्धित समाचार

सबै