काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म **‘झिंगे दाउ २’**को तीज लक्षित गीत सार्वजनिक गरिएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।
७ मिनेट लामो गीतको भिडियोमा फिल्मका दुई मुख्य पात्र जेठानी र देउरानीबीचको झगडालाई प्रस्तुत गरिएको छ। गीतमा केकी अधिकारी जेठानी र आँचल शर्मा देउरानीको भूमिकामा देखिएका छन्।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ। गीतमा प्रयोग गरिएका संवाद तथा लाइनहरू सामाजिक सञ्जालमा चर्चित हुने देखिन्छ।
गीतको भिडियोमा केकी र आँचलबीचको दोहोरी तथा नोकझोकलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। केकी र आँचलले गीतलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माता छन्।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा केकी अधिकारी र आँचल शर्माका अलावा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ।
फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान खिचिसकेको छ। निर्माणपक्षका अनुसार फिल्मको ट्रेलर केही दिनभित्र सार्वजनिक गरिनेछ।