गायिका नीशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन्। नेपालमा आएको विनाशकारी बाढीका कारण निर्धारित समयभन्दा केही ढिला गीत सार्वजनिक गरिएको हो। गीत भदौ १० गते रिलिज गर्ने तयारी भए पनि बाढीका कारण रिलिज स्थगित गरिएको थियो।
नीशा सुनार र प्रकाश सपुतको स्वरमा रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ।
गीतको भिडियोमा प्रकाश सपुत, अभिनेत्री निरुता सिंह र विन्दु बोहराको आकर्षक नृत्य देख्न सकिन्छ। गायिका नीशा सुनार पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत भएकी छन्।
सुनिल वीकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ। हरि हुमागाईंले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने प्रविण भट्टले सम्पादन गरेका छन्।
गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका हुन्। त्यसैले भिडियोमा उनीहरूको जोडीको केमेष्ट्री दर्शकका लागि विशेष आकर्षण बन्न सक्छ।
अभिनेत्री निरुता सिंहले पनि पछिल्लो समय निकै कम म्युजिक भिडियोमा काम गर्दै आएकी छन्। गीत कर्णप्रिय लागेकाले आफू भिडियोमा सहभागी भएको उनको भनाइ छ।