सुदीप, कञ्चन र राहुलको ‘मायालु’ सार्वजनिक

0 Shares

काठमाडौं । प्रेम, भावना र सम्बन्धका उतारचढावलाई प्रस्तुत गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ। युनिक प्रोडक्सनको प्रस्तुतिमा तयार भिडियोमा सुदीप चापागाईं, कञ्चन परियार र राहुल शाहले अभिनय गरेका छन्।

“माया… जसले टाढा हुन दिँदैन” भन्ने भावलाई केन्द्रमा राखिएको गीतमा प्रेम र बिछोडका भावनालाई सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको छ। प्राकृतिक परिवेश र आकर्षक दृश्यमार्फत प्रेमकथालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

प्रयास बोहोराको निर्देशन रहेको भिडियोको छायांकन दीपु रिजालले गरेका हुन्। काठमाडौंको थलीस्थित किसानको फार्ममा छायांकन गरिएको भिडियोले प्रेमसम्बन्धका विभिन्न उतारचढावलाई कथात्मक शैलीमा प्रस्तुत गरेको छ।

‘मायालु’मा सुजन साम्पाङ र एलिजा प्रधानको स्वर छ। एलिजे नेवाको शब्द तथा संगीत रहेको गीतमा बिश्वोजित लामाको एरेन्जमेन्ट तथा अविनाश चापागाईंको मिक्सिङ र मास्टरिङ छ। गीत धुन स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोको पोस्ट–प्रोडक्सन इन्टर मिडिया र मनोज शाहले गरेका हुन्। निर्माण पक्षले गीत तथा भिडियोले दर्शक र संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।

‘मायालु’ इन्टर मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित समाचार

सबै