‘अक्षरा’को ट्रेलर सार्वजनिक, निर्माताको १०% रकम दैवीप्रकोप कोषमा

0 Shares

काठमाडौं । भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘अक्षरा’को ३ मिनेट २४ सेकेन्ड लामो आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्दै फिल्मबाट निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको हो।

निर्माण पक्षका अनुसार फिल्म प्रदर्शनपछि हलबाट निर्माताको हिस्सामा प्राप्त हुने रकमको १० प्रतिशत कोषमा योगदान गरिनेछ।

सार्वजनिक ट्रेलरले अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत पारिवारिक हैसियत हेरेर विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई केन्द्रमा राखेको देखाउँछ। मार्मिक कथावस्तु र सामाजिक सन्देश प्रस्तुत गर्ने फिल्मले नेपाली समाजको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन् भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्।

निर्माता उग्रसेन ढुङ्गानाको मूल कथामा आधारित फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा लेखेका हुन्।

फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ। गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ।

दिपेन बस्न्यातको छायांकन, गौतम खड्काको सम्पादन तथा साहिल खानको टिजर र ट्रेलर कट रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन छ।

नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्म वितरण गर्दैछन् भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै