ट्रेलर सार्वजनिक भएपछि भारतीय दूतावासले किन बोलायो ‘पेन्सन पट्टा’को निर्माण टिमलाई?

0 Shares

काठमाडौं । फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएपछि यसको निर्माण टोली भारतीय राजदूतावासस्थित मिलिटरी पेन्सन शाखामा पुगेको छ। फिल्मको कथासँग प्रत्यक्ष जोडिएको पेन्सन पट्टा जारी हुने कार्यालयबाटै निर्माण पक्षलाई भेटघाटका लागि निम्तो आएपछि टोली दूतावास पुगेको हो।

नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गर्ने मिलिटरी पेन्सन शाखाले पेन्सन पट्टा जारी गर्नुका साथै त्यसमा देखिएका त्रुटि सच्याउने कामसमेत गर्दै आएको छ।

ट्रेलर हेरेपछि फिल्मको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको निर्माण पक्षले जनाएको छ। नेपालमा आएको विनाशकारी बाढीका कारण फिल्मसम्बन्धी भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रम रोकिएका कारण भेट केही ढिला भएको बताइएको छ।

भेटका क्रममा निर्माण टोलीले शाखाका कर्मचारीसँग अन्तरक्रिया गरेको थियो। कर्मचारीहरूले फिल्म निर्माण भएकोमा बधाई दिँदै सफलताको शुभकामना दिएका थिए।

निर्देशक तथा अभिनेता गुरुङले भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे।

“मीठो नेपाली भाषा बोल्ने मेजर राहुल झा तथा भारतीय दूतावाससम्बद्ध कर्मचारीहरूले देखाउनुभएको आत्मीयताप्रति हार्दिक आभार,” गुरुङले भने।

भेटघाटका क्रममा आफूले पेन्सनसम्बन्धी केही नयाँ जानकारीसमेत पाएको उनले बताए। उनका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक सेवाका गरी १ लाख १९ हजार ५ सय ४ जना पेन्सनभोगी रहेका छन्। भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको जानकारी आफूले पाएको गुरुङले बताए।

“मलाई थाहै थिएन। आज थाहा भयो,” उनले भने।

यद्यपि, शाखामा भएको छलफलबाट फिल्मको कथासँग सम्बन्धित के–कस्ता जानकारी प्राप्त भए भन्नेबारे गुरुङले खुलाउन चाहेनन्।

“वर्षौंदेखि यही काम गर्नेहरूसँग बसेपछि थाहा हुन्छ, हामीले देखेको त सानो हिस्सा रहेछ। बाँकी अहिले भन्दिनँ,” उनले भने।

फिल्ममा पेन्सन पट्टा कसरी कथासँग जोडिन्छ, त्यसमा कसको नाम आउँछ र त्यसपछि परिवारमा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने विषयमा निर्माण पक्षले पनि धेरै कुरा खुलाएको छैन।

“त्यो हलमै हेर्नुहोला,” गुरुङले मुस्कुराउँदै भने।

पेन्सनसम्बन्धी जानकारी तथा सेवाका लागि पेन्सनभोगी र उनका परिवारले मिलिटरी पेन्सन शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ। शाखाले वर्षभरि विभिन्न जिल्लामा पेन्सन शिविरसमेत सञ्चालन गर्दै आएको छ।

लामो समयको मेहनतपछि तयार भएको ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ। फिल्म प्रदर्शनसँगै पेन्सन शाखामा निर्माण टोलीले के जानकारी पायो र फिल्मको पर्दाभित्रको कथा कस्तो छ भन्ने कौतूहल पनि मेटिने निर्माण पक्षको दाबी छ।

सम्बन्धित समाचार

सबै