‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

0 Shares

काठमाडौं — भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुज र शान्ति श्री परियारको स्वर छ। मनोज थापा मगरले संगीत संयोजन गरेका छन्। मौलिक स्वादको गीतमा प्रेम, सम्झना र भावनालाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राई देखिएका छन्।

फिल्मको कथासँग जोडिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र पारिवारिक सम्बन्धको पक्षलाई संकेत गर्छ। बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका प्रेम, त्याग, विछोड, पारिवारिक सम्बन्ध र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ।

माओत्से गुरुङ निर्देशित फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ। पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्छ। वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टासँगै पारिवारिक विगत, पहिचान, सम्बन्धको दूरी र पेन्सन अधिकारका जटिलता कथामा जोडिएका छन्।

निर्देशक गुरुङका अनुसार फिल्म पेन्सनमा मात्र केन्द्रित छैन। भूतपूर्व गोर्खालीको पेन्सनले परिवारमा पार्ने प्रभावसँगै प्रेम, भावना, त्याग र पारिवारिक सम्बन्धका विभिन्न तहलाई पनि फिल्ममा प्रस्तुत गरिएको छ। धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध तथा आत्मिक सन्तुष्टिलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ।

आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्मलाई देशभर वितरण गर्नेछन्। मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन्।

सुशन प्रजापतिको छायांकन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको फिल्ममा मनोज थापा मगर, शिव बराइली र सुरज तामुको संगीत छ। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन्।

माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणीकरण पाएको छ। फिल्म भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै