काठमाडौँ — नेपालका बाढीपीडितको सहयोगार्थ अस्ट्रेलियाको वाल्चामा आयोजित राहत अभियानबाट २१ हजार ९५० अमेरिकी डलर अर्थात् करिब ३३ लाख १६ हजार ४४० रुपैयाँ संकलन भएको छ।
वाल्चास्थित एप्स्ली आर्म्स होटलका निर्देशक गणेश सेढाईंको पहलमा आयोजित क्यान्डल लाइट, र्याफल र अक्सन कार्यक्रममार्फत उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको आयोजकले जनाएको छ।
नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाली समुदायले राहत अभियान सुरु गरेको फिल्म निर्देशक शोभित बस्नेतले बताए।
करिब २५० नेपाली तथा स्थानीय अस्ट्रेलियाली सहभागी कार्यक्रममा वाल्चा काउन्सिलका मेयर एरिक नोभाकसले विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीका लागि सहयोग गर्न स्थानीय समुदायलाई आह्वान गरेका थिए।
अभियानलाई सफल बनाउन निर्देशक बस्नेतसँगै सिड्नी निवासी व्यवसायी सन्तोष तिवारीले समन्वय तथा सक्रिय भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा खुकुरी र थैलीलगायत नेपाली मौलिक सांस्कृतिक सामग्री प्रदर्शन तथा बिक्री गर्नुका साथै र्याफल र अक्सनसमेत सञ्चालन गरिएको थियो।
वाल्चा कम्युनिटी, वाल्चा मेन्स सेड, अक्स्ली राइडर्स, रोटरी क्लब, लायन्स क्लब तथा टामवर्थ र आर्मिडेलका नेपाली समुदायले पनि अभियानमा ऐक्यबद्धता जनाएका थिए।
आयोजक गणेश सेढाईंले संकलित रकम राहत सहयोग मात्र नभई नेपाल र अस्ट्रेलियाका समुदायबीचको मानवीय ऐक्यबद्धताको प्रतीक भएको बताए। उनले अभियानमा सहयोग गर्ने स्थानीय व्यवसायी, विभिन्न संस्था तथा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।