‘कार्की साइँला’बाट उत्कृष्ट नतिजाको पर्खाइमा जितु, दिए तीन कारण

0 Shares

‘कार्की साइँला’मा भरियाको जीवन, मनको भारी र समाजको कथा

काठमाडौँ । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’मा अभिनेता जितु नेपाल मुख्य भूमिकामा छन्। राजेन्द्र बस्नेत निर्देशित फिल्मले गाउँको परिवेशमा भरियाको जीवन, प्रेम, परिवार, सामाजिक व्यवहार र मानवीय संवेदनालाई प्रस्तुत गर्छ।

फिल्ममा ‘कार्की साइँला’ नाम वास्तविक व्यक्तिबाट प्रेरित भए पनि कथा भने उनको वास्तविक जीवनमा आधारित नभएको जितु नेपाल बताउँछन्। फिल्म, आफ्नो भूमिका र नेपाली फिल्मको बजारबारे जितुसँग गरिएको कुराकानीको सम्पादित अंश :

‘कार्की साइँला’ पात्र वास्तविक हो ?

कार्की साइँला नेपाली कथानक फिल्मको नाम पनि हो र एउटा पात्रको नाम पनि हो। यो पात्र वास्तविक व्यक्ति हुनुहुन्छ, तर फिल्मको सम्पूर्ण कथा उहाँको जीवनसँग सम्बन्धित छैन। केही कुराहरू भने उहाँको जीवनसँग मिल्छन्।

उहाँको गाउँ सहिदभूमि गाउँपालिका हो। हामी त्यहीँ गएर सुटिङ पनि गरेका छौँ। उहाँ सानो पदको मान्छे हुनुहुन्थ्यो। त्यतिबेला बाटोको सुविधा नहुँदा धरान–चतरा गएर माथिसम्म भारी बोकेर सामान ल्याइदिने गर्नुहुन्थ्यो।

आफ्नै जीवनमा दुःख र पीडा भए पनि अरूका सामान बोक्ने, अरूलाई सेवा गर्ने र रमाइलो गर्ने उहाँको स्वभाव रहेछ। उहाँको जीवनमा धेरै उतारचढाव पनि आएका रहेछन्। त्यही वास्तविक पात्रलाई आधार बनाएर फिल्मको नाम ‘कार्की साइँला’ राखिएको हो। तर फिल्मको कथा उहाँकै जीवनको हुबहु कथा भने होइन।

सिनेमाप्रेमीले ‘कार्की साइँला’ किन हेर्ने ?

मैले अहिलेसम्म गरेका फिल्महरूको हिसाबले यो कथा मलाई पनि एकदमै मन परेको छ। शंकर धिताल र सबिन अधिकारीले लेख्नुभएको कथा निकै नौलो खालको छ।

अहिले जुन परिस्थितिमा र जुन प्रकारका फिल्महरू आइरहेका छन्, त्यसको लाइनअपमा रहेर पनि यो फिल्म अलि फरक छ। यो पूर्ण रूपमा इमोसनल र सिरियस मात्र छैन। मैले पनि ‘अलिअलि कमेडी गरौँ’ भनेँ। त्यसैले यसमा कमेडी पनि छ।

यो एउटा टिपिकल गाउँको फेमिली ड्रामा हो। गाउँ, परिवार, प्रेम, सम्बन्ध र मानवीय भावनासँगै मनोरञ्जन पनि छ।

‘कार्की साइँला’जस्ता पात्र किन जन्मिन्छन् ?

यस्ता पात्रहरू समाजकै परिस्थितिबाट जन्मिन्छन्। उनीहरू अरू सबैको भारी बोक्छन्, तर आफ्नो जीवनको दुःखको भारी पनि बोकेर हिँडिरहेका हुन्छन्।

फिल्ममा एउटा संवाद छ—‘म शरीरको भारी त बिसाउन पाउँछु, तर मनको भारी कहिले बिसाउन पाइनँ, झन् झन् बढ्दै जान्छ।’

मनमा एउटा भारी लिएर पनि अरूको भारी बोक्दै मानिसहरूले आफ्नो जीवन चलाइरहेका हुन्छन्। दुःखमा पनि अरूलाई सहयोग गर्छन्, अरूलाई खुसी बनाउँछन्। फिल्मले त्यही मानवीय पक्षलाई सकारात्मक ढंगले प्रस्तुत गरेको छ।

अहिलेसम्म गर्नुभएका फिल्ममध्ये ‘कार्की साइँला’लाई कहाँ राख्नुहुन्छ ?

‘छक्का पञ्जा’ सिरिजलाई छाडेर मैले गरेका फिल्ममध्ये यो फिल्मलाई अहिलेसम्मको उत्कृष्टमध्ये राख्छु।

यो आफ्नै प्रकारको फिल्म हो। तर अरूभन्दा अलि नौलो पनि छ। फेरि मेरो लागि पनि यो निकै सुहाउँदो भूमिका हो।

प्रियाना आचार्यसँगको मेरो जोडी पनि राम्रो मिलेको छ। उहाँको र मेरो चरित्रले कथामा राम्रो प्रभाव पार्छ भन्ने लाग्छ।

निर्देशकले तपाईंको क्षमता कत्तिको निकाल्नुभएको छ ?

उहाँहरूले नै चरित्रलाई यसरी गर्नुपर्छ भनेर सम्झाउनुभयो। हामीले पनि उहाँहरूको अपेक्षाअनुसार पात्रलाई न्याय दिने प्रयास गरेका छौँ।

‘आई एम जितबहादुर’को तुलनामा यो भूमिका कत्तिको चुनौतीपूर्ण थियो ?

‘आई एम जितबहादुर’मा मेरो आफ्नै जीवनसँग नजिक भएका केही कुरा थिए। खेलकुदतिर पनि काम गरेको थिएँ, त्यसैले केही कुरा मेरै अनुभवसँग मिल्थे।

तर ‘कार्की साइँला’ अलि फरक छ। यसमा इमोसन छ, कमेडी छ, अलिअलि फाइट पनि छ। धेरै कुरा मिसिएको भूमिका हो। त्यसैले चरित्रका हिसाबले मलाई यो भूमिका निकै राम्रो लागेको छ।

फिल्म चल्नैपर्ने व्यावसायिक दबाब कत्तिको छ ?

दबाब छैन भन्ने होइन। हरेक कलाकारले आफ्नो काम राम्रो होस् भन्ने चाहन्छ। हरेक खेलाडीले खेल जित्ने प्रयास गर्छ, गोल गर्ने प्रयास गर्छ। मेरो पनि प्रयास छ।

तर व्यवसायिक रूपमा फिल्म चल्यो वा चलेन भन्ने कुराले कलाकारको मूल्यांकन नै त्यही आधारमा हुनुपर्छ भन्ने मलाई लाग्दैन। त्यो हुनु पनि हुँदैन।

व्यापार गर्नु र कला प्रस्तुत गर्नु दुई फरक कुरा हुन्। हामीले निर्देशकले भनेअनुसार, कथाको भावअनुसार अभिनय गरेर ‘कार्की साइँला’मा फिट भएँ कि भइनँ, पात्रलाई न्याय गरेँ कि गरिनँ भन्ने मेरो जिम्मेवारी हो।

फिल्म कुन हलमा कति चल्यो, मार्केटिङ कस्तो भयो, बजारमा कसरी गयो भन्ने कुरा हाम्रो प्रत्यक्ष जिम्मेवारी होइन। हामी व्यापारी होइनौँ।

फिल्म चल्यो भने राम्रो हो, त्यसले व्यावसायिक सफलता पाउनुपर्छ। तर फिल्म चले कलाकार राम्रो र नचले कलाकार नराम्रो भन्ने किसिमको मूल्यांकनसँग म सहमत छैन।

आफूले उत्कृष्ट काम गर्न सकेँ जस्तो लाग्छ ?

मैले मेरो तर्फबाट १० प्रतिशत पनि कमी गरेँ जस्तो लाग्दैन। गेटअपदेखि लुगासम्म पनि ‘यसरी गरौँ’ भनेर मैले आफ्ना सुझाव दिएको छु। सहकलाकारहरूलाई पनि कतिपय ठाउँमा हामी यसरी गरौँ भनेर भनेको छु।

आफ्नो क्षमताले भ्याएसम्म मैले यो फिल्ममा राम्रो दिने प्रयास गरेको छु।

अब फिल्म तयार भइसकेको छ र असोज २ गते प्रदर्शन हुँदैछ। अहिले फिल्म बनाउन लगानी, जोखिम र कला चाहिन्छ भने फिल्म चलाउन त्योभन्दा पनि धेरै कुरा चाहिन्छ।

फिल्म चलाउनु पनि एउटा कला हो। बजारमा कसरी जाने, दर्शकलाई के भन्ने, किन हाम्रो फिल्म हेर्न आउनुपर्छ भनेर कसरी बुझाउने भन्ने कुरा महत्वपूर्ण छ। त्यसका लागि राम्रो व्यवस्थापन र मार्केटिङ आवश्यक हुन्छ।

त्यसैले मेरो अहिलेको अलिकति डर भनेको फिल्मको मार्केटिङ कसरी हुन्छ भन्नेमा हो।

‘आई एम जितबहादुर’मा जस्तो अवस्था दोहोरिन्छ कि भन्ने डर छ ?

त्यस्तो डर छैन। ‘आई एम जितबहादुर’मा म केही हदसम्म आफ्नै रूपमा निर्माता पनि जोडिएको थिएँ। पैसा लगानी गरिएको थियो र त्यसको जिम्मेवारी पनि थियो।

केही समय मलाई गाह्रो भयो, किनभने कसैको पैसा बाँकी राख्न म चाहन्नँ। फिल्म त्यति धेरै नचल्ने मैले सोचेको पनि थिइनँ। परिस्थितिका कारण त्यस्तो भयो।

त्यो फिल्ममा एउटा कुरा चाहिँ लाग्छ—मैले कमेडी अलि बढी गरेको भए राम्रो हुन्थ्यो कि भन्ने। तर अरू हिसाबले मैले आफ्नो काम गरेको थिएँ। भविष्यमा त्यो फिल्म युट्युबमा आएपछि पनि कामका हिसाबले त्यसबारे बहस हुन्छ भन्ने लाग्छ।

अहिले ‘कार्की साइँला’मा म निर्माता होइन। त्यसैले मेरो जिम्मेवारी पनि फरक छ। फिल्म राम्रो होस् भन्ने मेरो चाहना छ। निर्माता र निर्देशकलाई पनि मैले मेरो तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी नराख्ने र आवश्यक परे सोचभन्दा बढी मेहनत गर्ने बताएको छु।

नेपाली फिल्मको बजारबारे तपाईंको अनुभव के छ ?

फिल्म हलमा लागेपछि कलाकार, प्राविधिक, निर्देशक र निर्माता केही हदसम्म आरामसँग बस्न सक्ने वातावरण बन्नुपर्छ। फिल्म चल्यो कि चलेन भनेर मात्र होइन, त्यसका लागि हामीले कस्तो मेहनत गर्‍यौँ भन्ने पनि महत्वपूर्ण छ।

नेपाली फिल्म उद्योगलाई बचाउने हो भने ठूलो बहस आवश्यक छ। ठूला निर्माता, कलाकार र निर्देशक सबै बसेर अब के गर्ने भनेर सोच्नुपर्छ।

‘मैले जति लगानी गरेँ, त्यति आए पुग्यो’ भन्ने सोचले मात्र उद्योग चल्दैन। अहिले फिल्म चलाउन गाह्रो भइरहेको अवस्था छ।

दर्शकले आफ्नो पैसा खर्च गरेर फिल्म हेर्न आउनुपर्छ। कसैले राम्रो भनिदिएपछि, कसैले रोएको क्लिप राखेपछि वा सामाजिक सञ्जालमा चर्चा भएपछि मात्र दर्शक आउने अवस्था राम्रो होइन।

सुरुका दिनदेखि नै फिल्मप्रति दर्शकको आकर्षण कसरी बढाउने भन्नेमा सोच्नुपर्छ। हलको पनि आफ्नै समस्या छ। हलले पनि व्यापार गर्नुपर्छ। हल खाली राखेर नेपाली फिल्म मात्र देखाइरहन सक्ने अवस्था हुँदैन।

कि फिल्मले दर्शक तान्न सक्नुपर्छ, कि हलले आफ्नो व्यवस्थापन गर्न सक्नुपर्छ। समाधानका लागि सबै पक्ष बसेर सोच्न जरुरी छ।

‘कार्की साइँला’ हेर्नुपर्ने तीन कारण के हुन् ?

पहिलो, अहिले आइरहेका फिल्मभन्दा यसको कथावस्तु अलि फरक छ। पात्रले जे गरिरहेको देखिन्छ, उसको मनभित्र त्यही कुरा नहुन सक्छ। बाहिर एउटा व्यवहार र भित्र अर्कै भावना भएको पात्रले दर्शकलाई बाँधेर राख्छ।

दोस्रो, यो मनोरञ्जनात्मक फिल्म हो। इमोसन, कमेडी र पारिवारिक सम्बन्ध सबै कुरा छन्।

तेस्रो, यो गाउँको वास्तविक परिवेशमा बनेको फिल्म हो। धनकुटाको एउटा टिपिकल गाउँमा गएर फिल्म खिचिएको छ। गाउँले परिवेश, परिवार र मानवीय सम्बन्धलाई करिब दुई घण्टा १०–१५ मिनेटको मनोरञ्जनात्मक यात्रामा प्रस्तुत गरिएको छ।

त्यसैले ‘कार्की साइँला’ हेरेपछि दर्शकले भरियाको जीवन, उसको मनको भारी र गाउँले समाजको एउटा फरक कथा महसुस गर्नेछन् भन्ने मेरो विश्वास छ।

सम्बन्धित समाचार

सबै