युरोपका सुन्दर शहरमा खिचिएको ‘माया बस्छ कि के हो !’को ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौं, २२ भदौं — लभस्टोरी फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक गरिएको छ। साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब तीन मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।

असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका हुन्। ट्रेलरमा युरोपका सुन्दर शहरसँगै नेपाली गाउँको परिवेशलाई पनि समेटिएको छ। अध्ययन तथा रोजगारीका लागि विदेशिएका युवा–युवतीबीचको प्रेम, सम्बन्ध, उतारचढाव र मतभेदलाई फिल्मको कथाको मुख्य आधार बनाइएको देखिन्छ।

फिल्मका अधिकांश दृश्य बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डलगायत युरोपेली देशमा छायांकन गरिएको हो। यसले नेपाली युवाको विदेश यात्रा र त्यहाँ विकसित हुने प्रेम सम्बन्धलाई युरोपेली परिवेशमा प्रस्तुत गर्ने संकेत ट्रेलरले गरेको छ।

शरद अधिकारी निर्माता रहेको फिल्मका अर्का निर्माता बहादुर सिंह तामाङ हुन्। आरती अधिकारीको कथा तथा मौनता श्रेष्ठको पटकथा र संवाद रहेको फिल्मलाई रामप्रसाद चौधरीले सम्पादन गरेका छन्।

जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको छायांकन रबिन्द्र बरालले गरेका हुन्। फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

फिल्ममा सोनाल लामा र कस्मता निरौलासँगै नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, रिचा थापा, खिन्नबहादुर भण्डारी (भोला), जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु र सुकचन्द्र थापाको अभिनय छ।

‘माया बस्छ कि के हो !’ लाई नेशनल सिने ग्रुपले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै