‘कालमाण्डू’ पुस २४ गतेदेखि प्रदर्शनमा, ‘राधा’ बोलको गीत सार्वजनिक

0 Shares

काठमाडौं । एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्ममा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको गीतका शब्द रमेश देवकोटाले लेखेका हुन्। सार्वजनिक भिडियोमा मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन्। भिडियोमा उनीहरू राधा–कृष्णको भूमिकामा प्रस्तुत भएका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ।

एकातिर अपराध र थ्रिलरको कथा तथा अर्कोतिर प्रेमिल भाव बोकेको ‘राधा’ गीतले ‘कालमाण्डू’को कथाको संसारलाई थप फराकिलो बनाउने देखिएको छ। निर्माण टिमका अनुसार फिल्मको कथा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्धको वरिपरि केन्द्रित छ।

मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको फिल्मलाई सयनम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन्। उनका अनुसार फिल्मले काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसारसँगै मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई प्रस्तुत गर्नेछ।

निर्देशक अधिकारीका अनुसार १९ वर्षीया बहिनी हराएपछि उनलाई खोज्न निस्किएको एक दाजु कसरी अपराधको संसारमा फस्छ र बहिनीको खोजीका क्रममा कस्ता खतरासँग जुध्छ भन्ने फिल्मको मुख्य कथा हो।

‘फिल्म एक दाजुले आफ्नी १९ वर्षीया बहिनीको खोजीमा अपराधीहरूसँग गर्ने संघर्षको कथामा आधारित छ,’ निर्देशक अधिकारीले भने, ‘कालमाण्डू एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ।’

फिल्मले एक्सनसँगै दाजु–बहिनीबीचको प्रेम, खोजी र अपराधसँगको खतरनाक संघर्षको कथा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ।

फिल्ममा गजित विष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय छ।

फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुरदेखि पर्साको ठोरीसम्म गरिएको हो। पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका छन् भने राजु लामा र मिस्टर काजीले द्वन्द्व निर्देशन गरेका छन्। रवि भुजेल सहायक निर्देशक, पुनम श्रेष्ठ कोरियोग्राफर तथा सम्राट न्यौपाने संगीत निर्देशक हुन्।

कमल थिङ निर्माता रहेको फिल्ममा मिलन कटवाल र शम्भु श्रेष्ठले प्रोडक्सन व्यवस्थापन सम्हालेका छन्। फिल्मलाई सिंहदेवी प्रोडक्सनले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै