काठमाडौं । हरि लम्साल निर्देशित फिल्म ‘बा: एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ। भोटेकोशी बाढीका कारण यसअघि तय गरिएको समयमा प्रदर्शन हुन नसकेको फिल्म अब असोज ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।
कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले शुक्रबार नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि फिल्मको प्रदर्शन मिति मंसिर २४ गतेका लागि तय गरिएको थियो। भोटेकोशी बाढीपीडितका लागि निर्माण टिमले दुई लाख रुपैयाँ सहयोगसमेत गरेको थियो।
निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको छलफलपछि नयाँ प्रदर्शन मिति तय गरिएको हो।
“हामी वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर ‘बा: एक योद्धा’लाई असोज ९ गते प्रदर्शनमा ल्याउने निष्कर्षमा पुगेका छौँ,” लम्सालले भने, “यो मितिमा दर्शकसँगै सबै पक्षको साथ मिल्नेमा हामी विश्वस्त छौँ।”
फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य कथावस्तु बनाएको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको मुख्य भूमिका छ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका हरि लम्साल संगीतकारसँगै रचनाकार र गायक पनि हुन्। ‘बा: एक योद्धा’ उनको फिचर फिल्म निर्देशनमा डेब्यु हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्सालले नै लेखेका हुन्।
फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता र अर्जुन पौडेल लाइन प्रोड्युसर छन्। कृष्ण काफ्ले सह–निर्माता हुन्।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।