काठमाडौं । अभिनेत्री साहारा हाङमा लिम्बुको डेब्यु फिल्म ‘जलाकी’बाट उनको चारित्रिक पोस्टर सार्वजनिक गरिएको छ। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले साहाराको सोलो पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा साहारा मगर समुदायको सांस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोचमग्न देखिएकी छन्। उनी फिल्मकी मुख्य अभिनेत्रीमध्ये एक हुन्।
साहाराले ‘जलाकी’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। फिल्ममा उनी ‘ओपन माइन्डेड’ र आधुनिक सोच भएकी, सम्पन्न पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन्। निर्माण टिमका अनुसार उनी पोखराकी सफल तथा स्वतन्त्र व्यवसायी महिलाकी छोरीको चरित्रमा देखिनेछिन्।
सिक्किमकी साहारा ‘मिस टिन इन्डिया २०२२’ र ‘मिस टिन २०२२’की विजेता हुन्। उनले ‘मिस टिन युनिभर्स २०२२’ मा पनि प्रतिस्पर्धा गरेकी थिइन्। यसबाहेक उनले ‘मिस बेस्ट र्याम्पवाक सिक्किम’, ‘मिस कन्जेनियालिटी इन्डिया’ लगायतका उपाधि हासिल गरेकी छन्। अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरीका रूपमा समेत उनी परिचित छन्। उनले ‘मिस इन्डिया सिक्किम २०२४’ मा पनि सहभागिता जनाएकी थिइन्।
मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी साहारा अडिसनमार्फत ‘जलाकी’मा छनोट भएकी हुन्। उनी फिल्मको यात्रा आफ्ना लागि ‘डिफिकल्ट र डिफरेन्ट’ रहेको बताउँछिन्। फिल्मको छायांकनकै क्रममा उनले जीवनकै कठिन समयसमेत सामना गर्नुपरेको थियो।
‘जलाकी’को छायांकन भइरहेका बेला कार दुर्घटनामा उनका बुबाको निधन भयो। काठमाडौंमा फिल्म छायांकनका लागि आउनुअघि उनले बुबालाई भेटेकी थिइन्। त्यो नै बुबासँगको अन्तिम भेट बन्यो।
फिल्ममा काम गर्ने अवसर पाएको कुरा सबैभन्दा पहिले बुबालाई नै सुनाएको स्मरण गर्दै साहाराले भनिन्, “मैले ‘जलाकी’मा काम गर्ने फाइनल भएपछि सुरुमा बाबालाई भनेकी थिएँ। उहाँ एकदमै खुसी हुनुभएको थियो। बाबाले अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउनेछु भन्नुभएको थियो। तर त्यो सपना अधुरै रह्यो।”
बुबाको अन्तिम संस्कार सकेको चार दिनमै साहारा पुनः फिल्मको छायांकनमा फर्किइन्। उनका अनुसार आफूलाई सिल्भर स्क्रिनमा हेर्ने सपना बुबाको आफ्नै सपनाभन्दा पनि ठूलो थियो।
“मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरोभन्दा पनि ठूलो बुबाको सपना थियो। म बुबाको सपना अधुरो रहोस् भन्ने चाहन्नथेँ। त्यसैले छिटै काममा फर्किहालेँ,” उनले भनिन्, “ममी र दिदीले पनि बाबाको सपना पूरा गर भनेर थप हौसला र हिम्मत दिनुभयो। उहाँहरूकै हिम्मतले फर्केर सुटिङ गर्न सकेँ।”
साहाराका अनुसार उनलाई फिल्म क्षेत्रमा आउन परिवार र समाजसँग संघर्ष गर्दा सबैभन्दा ठूलो साथ बुबाबाटै मिलेको थियो। त्यसैले बुबाको सपना पूरा गर्न आफूले अभिनय यात्रालाई निरन्तरता दिएको उनको भनाइ छ।

छायांकनका दिनहरू सम्झिँदै उनले भनिन्, “म सुटिङ गर्ने अवस्थामा थिइनँ। रातभर निद्रा लाग्दैन थियो। रातभर टोलाएर बस्थेँ। बिहान ४ बजे प्रोडक्सन टिमको फोन आउँदा झस्किन्थेँ। अनि यत्तिकैमा सुटिङमा जान्थेँ। तर कसैलाई भनिनँ। क्यामेरामा नसुतेको जस्तो नदेखियोस् भन्ने डर भइरहन्थ्यो। त्यतिबेला बाबाकै सपना पूरा गर्नुपर्छ भन्ने भावनाले झन् बलियो बनायो।”
उनले ‘जलाकी’लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेकी छन्। फिल्मका लागि निकै मेहनत गरेकाले प्रदर्शनको समयलाई लिएर आफू उत्साहित रहेको साहारा बताउँछिन्।
डेब्यु फिल्मको यात्रा सहज बनाउन निर्देशक अशोक थापा मगरको ठूलो भूमिका रहेको उनको भनाइ छ। “उहाँ निर्देशक नहुनुभएको भए यो यात्रा यति सहज हुने थिएन। उहाँले मलाई आउटसाइडर वा डेब्यु एक्टरजस्तो ट्रिट नै गर्नुभएन,” उनले भनिन्, “उहाँले मलाई आफ्नै छोरीजस्तो गरेर गाइड गर्नुभयो। मेरो यात्राको सबैभन्दा ठूलो क्रेडिट उहाँलाई नै जान्छ।”
छायाकार शैलेन्द्र डी. कार्कीले पनि आफूलाई निकै सहयोग गरेको साहाराले बताइन्। सम्पूर्ण निर्माण टिम सहयोगी र परिवारजस्तै भएकाले काम गर्न सहज भएको उनको अनुभव छ।
‘जलाकी’ आफ्नो जीवनको अविस्मरणीय अध्याय बनेको बताउँदै उनले भनिन्, “यो यात्रा मेरो लागि चाहेर पनि बिर्सन नसक्ने बनेको छ।”
फिल्मको कथाले आफूलाई आकर्षित गरेकाले पनि अभिनय गर्न सहज भएको साहाराको भनाइ छ। ‘जलाकी’मा आफूले निर्वाह गरेको चरित्र व्यक्तिगत जीवनसँग पनि जोड्न सकेको उनले बताइन्। उनका अनुसार फिल्मको कथाले एकतर्फी प्रेममा परेका दर्शकलाई समेत जोड्न सक्छ।
‘जलाकी’को निर्माण टिमसँग जोडिन पाउनु आफ्ना लागि महत्वपूर्ण उपलब्धि भएको साहारा बताउँछिन्। “जलाकीअघि मैले धेरै प्रोजेक्ट गुमाएँ। तर पछुतो छैन। जलाकीबाट सन्तुष्ट छु,” उनले भनिन्।
अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’ आगामी मंसिर ४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। ‘खुस्मा’ फेम्ड निर्देशक मगरले फिल्म निर्देशन गरेका हुन्।
फिल्ममा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् भने बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगरले अभिनय गरेका छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन्।