काठमाडौं । निर्देशक विकास सुवेदीको नयाँ फिल्म ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर’ जापानको प्रतिष्ठित टोकियो फिल्म ‘ग्याप फाइनान्सिङ मार्केट’मा छनोट भएको छ। विश्वभरबाट प्राप्त सयौँ आवेदनमध्ये उत्कृष्ट २४ परियोजनामा परेको ‘शिरजरा’ नेपालसहित सम्पूर्ण दक्षिण एसियाबाट छनोट हुने एक्लो फिल्म बनेको हो।
टोकियो अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गत आयोजना हुने यस फिल्म बजारमा ‘शिरजरा’ कान्स, बर्लिन र भेनिसजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा स्थापित निर्माताका परियोजनासँगै छनोट भएको हो।
यस वर्षको सूचीमा कान्समा पुरस्कार जितेका सिंगापुरका निर्देशक जुनफेङ बु, कान्स र भेनिसमा आफ्नो उपस्थिति जनाइसकेका कजाकिस्तानका निर्देशक आदिलखान येर्जानाभ, कान्स विजेता फिल्म ‘टाइगर स्ट्राइप्स’ निर्माण गर्ने इन्डोनेसियाली कम्पनी कावानकावान मिडिया, भेनिस विजेता भियतनामी निर्देशक डिएप नुएन होआङ तथा बर्लिनमा फिल्म प्रदर्शन गरिसकेका ब्राजिलियन निर्देशक माथियास मारियानीका परियोजना छन्।
विश्व सिनेमाका स्थापित निर्माताका परियोजनासँगै नेपाली निर्देशक र फिल्म एउटै सूचीमा पर्नुलाई नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ।
किङ्डम नेटवर्कको निर्माणमा बन्न लागेको ‘शिरजरा’ उच्च अवधारणामा आधारित फिल्म हो। कथाअनुसार, मानवीय संवेदना र भावनालाई बुझ्न सक्ने डिजिटल संवेदना प्रविधि विकासमा काम गरिरहेकी एक आधुनिक एआई विशेषज्ञ आफ्नी हजुरआमासँग पुर्ख्यौली थलो नेपाल पुग्छिन्।
करिब पाँच हजार मिटरको उचाइसम्मको यात्रामा उनले प्रकृतिका अगाडि आधुनिक प्रविधिको अहंकार कसरी कमजोर बन्छ भन्ने अनुभूति गर्छिन्। आफूले खोजिरहेको मानवीय संवेदनाको तथ्यांक बाहिरी संसारमा नभई आफ्नै पुर्खाको रगत र चेतनामा पहिल्यै सुरक्षित रहेको बोध गर्ने उनको दार्शनिक तथा आध्यात्मिक यात्रालाई फिल्मले प्रस्तुत गर्नेछ।
यसअघि सन् २०२० मा निर्देशक मीनबहादुर भामको फिल्म ‘शाम्बाला’ पनि यही टोकियो फिल्म बजारमा छनोट भएको थियो। उक्त फिल्मले उत्कृष्ट परियोजनाको पुरस्कार जित्दै पछि सन् २०२४ को प्रतिष्ठित बर्लिन फिल्म महोत्सवको मुख्य प्रतिस्पर्धामा सहभागी भएर अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो।
टोकियो बजारमा छनोट भएसँगै ‘शिरजरा’को निर्माण टिमले अन्तर्राष्ट्रिय वितरक तथा युरोपेली सह–निर्मातासँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउनेछ। फिल्मको निर्माण, सह–निर्माण तथा विश्वव्यापी प्रदर्शनका सम्भावनाबारे छलफल गर्ने अवसरले परियोजनालाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आधुनिक प्रविधि र हिमाली परम्परागत चेतनाको सम्मिश्रण प्रस्तुत गर्ने ‘शिरजरा’को टोकियो छनोटले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।