काठमाडौं । बहुप्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनमै फिल्मले आक्रामक व्यापारको सुरुवात गरेको निर्माण तथा वितरण पक्षले जनाएको छ।
ट्रेलर सार्वजनिक भएदेखि नै डिजिटल प्लेटफर्ममा चर्चा बटुलेको फिल्मको अग्रिम टिकट बुकिङमा देखिएको उत्साह प्रदर्शनको दिन हलमा दर्शकको बाक्लो उपस्थितिमा परिणत भएको छ। देशभरका मल्टिप्लेक्स तथा सिंगल थिएटरमा उल्लेख्य दर्शक चाप देखिएको निर्माण पक्षको दाबी छ।
फिल्म प्रदर्शन भइरहेका हलमा दर्शकको प्रतिक्रिया पनि उत्साहजनक देखिएको छ। कतिपय दृश्यमा दर्शक खुलेर हाँसेका छन् भने भावुक प्रसंगमा दर्शक संवेदनशील बनेका छन्।
दर्शकको प्रतिक्रिया बुझ्न फिल्मका कलाकारहरू विभिन्न हलमा पुगिरहेका छन्। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी, अभिनेत्री दिव्या रायमाझी, प्रहरीको भूमिकामा देखिएका सुशान्त कार्की, कमेडियन पदम तामाङ र सन्तोष बानियालगायत कलाकार हलमा पुग्दा दर्शकले हुटिङसहित स्वागत गरेका थिए।
कलाकारहरूलाई पर्दाबाहिर प्रत्यक्ष भेट्न पाउँदा दर्शक उत्साहित देखिएका थिए भने दर्शकको प्रतिक्रियाले कलाकारहरू पनि उत्साहित बनेका छन्।
क्युएफएक्स सिनेमाज, आइएनआई सिनेमाज, फ्रेन्ड्स सिनेमा र वन सिनेमालगायत मल्टिप्लेक्स तथा देशभरका हलमा फिल्मले पहिलो दिन सयभन्दा बढी शो पाएको थियो।
पहिलो दिनको दर्शक चाप र सकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापार आगामी दिनमा अझ बढ्ने विश्वास वितरक गोविन्द शाहीले व्यक्त गरेका छन्। दर्शकको मागअनुसार आगामी दिनमा शो संख्या थपिन सक्ने उनको भनाइ छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको ‘बेहुली’ले प्रेम, पारिवारिक सम्बन्ध र मित्रताको कथा प्रस्तुत गर्छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायत कलाकारको अभिनय छ। अर्जुन पोखरेल प्रस्तुतकर्ता तथा प्रताप शमशेर राणा निर्माता रहेको फिल्मले पहिलो दिन देखाएको दर्शकको उत्साहले नेपाली बक्स अफिसमा बलियो सुरुवातको संकेत गरेको छ।