काठमाडौं । नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ तेस्रो हप्तामा सफलता पूर्वक प्रदर्शन भइरहेको छ। दर्शकको राम्रो साथ पाइरहेको फिल्मलाई शनिबार वरिष्ठ कलाकार तथा सञ्चारकर्मीहरूले हेरेर प्रशंसा गरेका छन्।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरेपछि निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाको खुलेर प्रशंसा गरे। अटिजम भएकी युवतीको भूमिका निर्वाह गरेकी नीतालाई आफूले वास्तविक जीवन र फिल्मको पात्रमा झन्डै नचिनेको उनले बताए।
नीताको अभिनयको प्रशंसा गर्दै मदनकृष्णले भने, “नीता ढुङ्गानाले यस्तो अभिनय गर्लिन् भनेर अन्दाज नै गरेको थिइनँ। सुरुदेखि अन्तिमसम्म अभिनयमा होल्ड गर्न सकेकी छन्।”
उनले फिल्मले अटिजम भएका व्यक्तिहरूको भावना र संवेदनशीलतालाई बुझ्न बाध्य बनाएको बताए। “उनीहरूको दिल हुन्छ, उनीहरूको पनि मन हुन्छ भन्ने कुरा यो फिल्मले सोच्न बाध्य बनाएको छ,” उनले भने।
उनका अनुसार ‘पार्वती’ हेर्ने दर्शकले एउटा किताब पढ्नुभन्दा बढी कुरा सिक्नेछन्।
मदनकृष्णसँगै फिल्म हेर्न पुगेकी उनकी बुहारी रिङ्कुले पनि नीताको अभिनयको प्रशंसा गर्दै उनलाई बधाई दिइन्। फिल्मबारे खासै प्रशंसा नगर्ने रिङ्कुले ‘पार्वती’ हेरेपछि नीताको कामको खुलेर तारिफ गरेकी हुन्।
“सबैभन्दा पहिला बधाई नीतालाई,” उनले भनिन्, “एकदमै गाह्रो विषय र समाजमा घटिरहने कुराहरू फिल्मको पर्दामा थियो। फरक क्षमता भएको घरमा घटिरहने घटना, जस्तै आमा–बुबा साथमा भए पनि समाजले कस्तो भूमिका खेल्दो रहेछ भन्ने कुराले मलाई निकै छोएको थियो।”
संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य फिल्म हेरेर बाहिर निस्कँदा निकै भावुक देखिन्थे। उनले पनि फिल्ममा नीताले गरेको अभिनयको खुलेर प्रशंसा गरे।
“यो फिल्ममा नीता ढुङ्गानाले जुन अभिनय गर्नुभएको छ, यो लेभलको एक्टिङ मैले देखेकै छैन,” उनले भने, “यस्तो फिल्मको म्यासेज एकदमै महत्त्वपूर्ण छ। किनभने यो विषयवस्तु रोज्नुहुने टिमका लागि जोखिम थियो।”
चर्चित हास्यकलाकार किरण केसी ‘रातामकै’ले फिल्मको कथावस्तु निकै बलियो लागेको बताए। भावुक बनेका उनले नीताको अभिनय र निर्देशन दुवैको प्रशंसा गरे।
“यो फिल्मको कथावस्तु नै एकदमै बलियो छ। साथै निर्देशन पक्ष पनि एकदमै बलियो लाग्यो,” उनले भने, “नीताले आफूले आफैलाई निर्देशन गरेर त्यो पात्रको ट्र्याकमा दर्शकलाई समातेर सेकेन्ड–सेकेन्डमा रुवाउन सक्ने क्षमता देखाएकी छन्।”
उनले आफ्नो हातमा कुनै शक्ति भएको भए फिल्मलाई अन्तर्राष्ट्रिय अवार्डका लागि पठाउन सक्ने भन्दै प्रशंसा गरे।
फिल्म हेर्न पुगेका अभिनेता जितु नेपाल, सञ्चारकर्मी प्रकाश सुवेदी, नरेश भट्टराईलगायतले पनि ‘पार्वती’को प्रशंसा गरेका थिए।
भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।
अटिजम भएकी छोरीलाई समाजले हेर्ने दृष्टिकोण र उनका बुवा–आमाले भोग्नुपर्ने कठिनाइलाई फिल्मले प्रस्तुत गरेको छ। नीता ढुङ्गानाकै निर्देशन तथा अभिनय रहेको फिल्मले दर्शकबाट प्रशंसा र माया पाइरहेको निर्माण पक्षको भनाइ छ।
फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायतको अभिनय छ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको फिल्मको नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।
शंकर पाण्डे फिल्मका प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्।