‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक

0 Shares

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने गौरांग शेखर शर्मा र ज्योत्सना जावडाले स्वर दिएका छन्। गौरांग र ज्योत्सना भारतीय गायक–गायिका हुन्।

सौरभ लामाको छायांकन तथा किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा निखिल उप्रेती र सजिना श्रेष्ठ रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। उनीहरूको नृत्यले दर्शकको ध्यान खिच्ने देखिन्छ। यद्यपि, सजिनासँग निखिलको केमेस्ट्री भने केही अस्वाभाविक लाग्छ, जसको मुख्य कारण उनीहरूबीचको उमेर अन्तर देखिन्छ। मेकिङका हिसाबले भने भिडियो स्तरीय छ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निखिल र सजिनासहित प्रमोद अग्रहरी, सञ्जय गुप्ता, रोहित चौधरी, ध्रुव कोइराला, सरिता ज्ञवाली तथा भारतीय कलाकार दीपराज राणा, रघु बाबु र रघू कारुमन्चीलगायतको अभिनय छ। यही फिल्मबाट पूर्णिका सिंजापतिले अभिनेत्रीका रूपमा डेब्यू गरेकी छन्।

निखिल उप्रेती स्वयंको लेखन रहेको फिल्मका निर्माता कृष्ण भट्टराई र कार्यकारी निर्माता मिथिलेश तिवारी हुन्। फिल्ममा मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन तथा युग भुसालको संगीत रहेको छ। दक्षिण भारत (तमिल)का कालाचरणले फिल्मको पार्श्व संगीत तयार गरेका छन् भने गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशक हुन्।

सम्बन्धित समाचार

सबै