‘जदौ’को ट्रेलर सार्वजनिक, जातीय विभेदको कथामा सस्पेन्स र रोमान्स

0 Shares

काठमाडौं,  । प्रतीक्षित फिल्म ‘जदौ’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको करिब सवा दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धप्रति नेपाली समाजमा विद्यमान विभेद, भेदभाव र सामाजिक उल्झनलाई प्रस्तुत गरिएको छ।

फिल्मको मूल कथालाई सस्पेन्समै राखिएको ट्रेलरमा हास्य, रोमान्स र रोदनको मिश्रण देखिन्छ। काजी लिम्बूको लेखन रहेको ‘जदौ’लाई निर्माण पक्षले सामाजिक सन्देशसहितको मनोरञ्जनात्मक फिल्मका रूपमा प्रस्तुत गर्दै आएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अञ्जन शर्माले नेपाली समाजमा अझै विद्यमान जातीय विभेद तथा धनीमानी वर्गले गरिब र निम्नवर्गमाथि गर्दै आएको थिचोमिचोविरुद्ध फिल्ममार्फत सशक्त आवाज उठाउने प्रयास गरिएको बताए। उनले ‘जदौ’ले नेपाली जनजीवनको मौलिक कथा बोकेको उल्लेख गर्दै फिल्मले मनोरञ्जनसँगै सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

अर्का निर्देशक काजी लिम्बूले आफूहरूले वर्षौंदेखि भन्न चाहिरहेको कथा ‘जदौ’मार्फत प्रस्तुत गरेको बताए। उनका अनुसार ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्नुपर्ने विषयमा आधारित फिल्म हो।

अभिनेता मुकुन भुसालले ‘जदौ’मा आफूले विगतका भूमिकाभन्दा फरक चरित्र निर्वाह गरेको बताए। अभिनेत्री नीति शाहले फिल्मका लागि निकै मेहनत गरेको र त्यसको परिणाम सुखद आउनेमा आफू आशावादी रहेको बताइन्। अभिनेता प्रभात पाल ठकुरीले ‘जदौ’ आफ्नो करिअरका लागि महत्वपूर्ण फिल्म भएको उल्लेख गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गरे।

कार्यक्रममा अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौड्यालले पनि आफ्ना भूमिकाबारे जानकारी दिँदै फिल्म राम्रो बनेकाले दर्शकको साथ पाउने विश्वास व्यक्त गरे।

कार्यकारी निर्मात्री शान्ति पुडासैनीले निकै मेहनत र दुःखका साथ फिल्म निर्माण गरिएको स्मरण गर्दै दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरिन्। निर्माता डिल्लीराज पोखरेलले फिल्मले मनोरञ्जनसँगै जातीय विभेदविरुद्धको आवाजलाई पनि बुलन्द बनाएको उल्लेख गर्दै यस्ता फिल्मलाई दर्शकको साथ आवश्यक रहेको बताए। कन्सेप्ट डिजाइनर विमला भण्डारीले पनि आम नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह गरिन्।

असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने ‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय छ।

श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको फिल्मका सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री छन्। सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मलाई एनजिसिएन ग्रुपले वितरण गर्दैछ।

समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर…’ र प्रेमिल गीत ‘तिमीसँग नबोली…’ अहिले दर्शक–स्रोताको रोजाइमा रहेको निर्माण पक्षले जनाएको छ। यसअघि सार्वजनिक टिजरले पनि दर्शकको ध्यान तानेको थियो।

ट्रेलर सार्वजनिक कार्यक्रममा ‘जदौ’को तर्फबाट गोलाप्रथामार्फत सात जना भाग्यशाली सञ्चारकर्मीलाई विभिन्न उपहार प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

सबै