काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ। निर्माण पक्षले शुभमुहूर्त गर्दै सोमबारदेखि फिल्मको छायांकन थालेको हो।
शुभमुहूर्त कार्यक्रममा फिल्मका अधिकांश कलाकारको उपस्थिति थियो। पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुने फिल्मको निर्माण पक्षले छायांकन सुरु भएकै दिन प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म आगामी चैत ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।
निर्देशक मिलन चाम्सले ‘म मदनकृष्ण’लाई उत्कृष्ट बनाउने प्रयास भइरहेको बताए। उनले यसअघि आफूले निर्देशन गरेको बायोपिक फिल्म ‘अञ्जिला’लाई दर्शकले दिएको मायाजस्तै ‘म मदनकृष्ण’लाई पनि दर्शकको साथ मिल्ने अपेक्षा व्यक्त गरे।
“हाम्रो चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ। हामीले यसअघि ‘अञ्जिला’लाई जसरी दर्शकले रुचाउनुभयो, त्यस्तै यो सिनेमालाई पनि उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ,” चाम्सले भने।
मदनकृष्ण श्रेष्ठको जीवन संघर्ष, सफलता र अनुभवको लामो यात्रा भएकाले त्यसलाई पर्दामा उतार्नु चुनौतीपूर्ण भए पनि आफ्नो टिमले उत्कृष्ट फिल्म बनाउनेमा उनी विश्वस्त छन्।
‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन्। यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछिन्। यशोदा मदनकृष्णकी श्रीमती हुन्।
अभिनेता अरुण क्षेत्रीले हरिवंश आचार्यको भूमिका निर्वाह गर्नेछन्। मदनकृष्ण र हरिवंशको जोडीलाई नेपाली कला क्षेत्रमा ‘मह जोडी’का रूपमा चिनिन्छ। अरुणको जोडीका रूपमा वर्षा राउत देखिनेछिन्। उनले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निभाउनेछिन्।
मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका विभिन्न पक्षलाई बायोपिकमा समेटिने निर्माण पक्षले जनाएको छ।
मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन्। फिल्मलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ।