‘जलाकी’को फर्स्टलुक टिजर सार्वजनिक, उपासनाको एकतर्फी प्रेम

0 Shares

काठमाडौं। आगामी मंसिर ४ गते (२० नोभेम्बर)देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जलाकी’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ। डेढ मिनेटभन्दा लामो टिजरले फिल्मको कथावस्तुलाई संक्षिप्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

अभिनेत्री उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको संवादरहित टिजरमा उनको विद्यार्थी जीवनदेखि शिक्षिकासम्मको यात्रा देखाइएको छ। एक दृश्यमा उनी स्कुलका बालबालिकासँग रमाइरहेकी देखिन्छिन् भने त्यसपछि उनलाई कलेजमा अध्ययन गरिरहेको देखाइएको छ।

कलेज जीवनमा उपासनाको पात्रको सोनम तोप्देनसँग एकतर्फी प्रेम बस्ने संकेत टिजरले गरेको छ। यस आधारमा फिल्मले कलेज जीवनको अधुरो प्रेमकथालाई मुख्य विषय बनाएको देखिन्छ।

अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी र खड्क बहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय रहेको छ। अभिनेता तथा क्याप्टेन विजय लामा फिल्ममा विशेष भूमिकामा छन्।

एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा बेताने मगर (बबिता राना), ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

निर्देशक अशोक थापा मगरकै लेखन रहेको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, अशोक थापा मगरको सम्पादन तथा सरित रयान र एसडी योगीको संगीत रहेको छ।

सम्बन्धित समाचार

सबै