हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीमा प्रतिमा अनावरण

0 Shares

काठमाडौँ। रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रंगकर्मी एवं अभिनेता स्व. हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्ती विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ। हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा रिमालको अर्धकदको प्रतिमा अनावरण गरिएको हो।

मध्य वानेश्वरस्थित रिमालकै निवासमा आयोजित समारोहमा कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठी, संस्थापक संरक्षक कल्याणी रिमाल, प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललगायतले लयप्रसाद मैनालीद्वारा निर्मित प्रतिमा अनावरण गरे।

सोही अवसरमा कला, संगीत र सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई प्रतिष्ठानले स्थापना गरेका विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेता हरिहर शर्मालाई नगद ५१ हजार १ रुपैयाँसहित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कार’ प्रदान गरियो।

त्यसैगरी पत्रकार वीरेन्द्र जैरीलाई ३१ हजार १ रुपैयाँसहित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य सञ्चार सेवा सम्मान पुरस्कार’ तथा गायक एवं संगीतकार सञ्जय श्रेष्ठलाई सोही रकमसहित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष सम्मान पुरस्कार’ प्रदान गरिएको थियो।

गीत–संगीत प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा रिमालले गाएका लोकप्रिय गीतहरू पनि प्रस्तुत गरिए। गायक जे पापीले ‘न त सम्झिनु न त बिर्सनु’, घनश्याम गौतमले ‘बिना बादल असिना पर्दैन’ तथा कपिल लोहनीले ‘फगत एक नजरमा’ बोलका गीत प्रस्तुत गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले रिमाललाई कला, साहित्य र संगीतका तीनै विधामार्फत जीवित राख्ने उद्देश्यले प्रतिष्ठानले काम गरिरहेको बताए। उनले रिमालकै निवासमा रंगमञ्च तथा नमोबुद्धमा फिल्म स्टुडियो निर्माण गर्ने योजना रहेको जानकारी दिए। सापकोटाले प्रतिष्ठानले विगतमा नाट्य महोत्सव र लघु फिल्म प्रतियोगिता आयोजना गरिसकेको र अब संगीत महोत्सव आयोजना गर्ने तयारीमा रहेको पनि बताए।

प्रमुख अतिथि ब्रजेश खनालले दशैंअघि आयोजना भएको कार्यक्रमलाई कला क्षेत्रका लागि अर्को ठूलो उत्सवका रूपमा व्याख्या गरे। उनले विगतको संगीत र कलामा आत्मीयता हुने गरेको उल्लेख गर्दै अहिले छिटो चमत्कार देखाउने मोहमा त्यो पक्ष हराउँदै गएको बताए। खनालले प्रतिष्ठानले आयोजना गर्ने आगामी संगीत महोत्सवमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि सहकार्य गर्न इच्छुक रहेको बताए।

सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै हरिहर शर्माले रिमालले सूक्ष्मभन्दा सूक्ष्म कुरामा ध्यान दिएर स्वाभाविक र सरल अभिनय गर्ने तथा कलाकारलाई पनि त्यसैअनुसार अभिनय गराउने गरेको स्मरण गरे। उनले आफूले अभिनय गर्दा समेत रिमालका ती शिक्षालाई सम्झने गरेको बताए।

कार्यक्रमका सभापति प्रा. डा. वासुदेव त्रिपाठीले रिमालको प्रतिमा स्थापनाले उनी फेरि फर्किएजस्तो अनुभूति भएको बताए।

रिमाल नेपाली रेडियो नाटकका अग्रणी व्यक्तित्वका रूपमा समेत परिचित छन्। रेडियो नेपाल स्थापना भएपछि सन् १९५०/५१ तिर शंकर लामिछानेको रचनामा रहेको ‘दिल टुक्रा भएर आँखाको बाटो बगेछ’ बोलको गीत रेकर्ड गराएर उनी रेडियो नेपालका पहिलो गायक बनेका थिए। रेडियो नाटकको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका कारण उनलाई नेपाली रेडियो नाटकका पिताका रूपमा समेत स्मरण गरिन्छ।

रंगमञ्च र रेडियो नाटकका विशिष्ट निर्देशक रिमाल रंगमञ्च तथा फिल्म अभिनय र गायनमा समेत सक्रिय थिए। उनी नेपाली फिल्म क्षेत्रका प्रारम्भिक कलाकारमध्ये एक हुन्। नेपालमै नेपाली कलाकारलाई लिएर छायांकन गरिएको पहिलो फिल्म ‘आमा’मा उनले अभिनय गरेका थिए। त्यसपछि ‘मनको बाँध’, ‘के घर के डेरा’ लगायतका फिल्ममा पनि उनको अभिनय देख्न सकिन्छ। अभिनयसँगै उनले फिल्म निर्देशनसमेत गरेका थिए।

करिब सात दशक लामो रंगमञ्च, रेडियो, संगीत र अभिनय यात्रामा रिमालले बहुआयामिक योगदान दिएका थिए। नेपाली रंगमञ्चलाई व्यावसायिक तथा कलात्मक रूपमा अघि बढाउने प्रारम्भिक पुस्ताका कलाकारका रूपमा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ।

वि.सं. १९८२ असोज ४ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते निधन भएको थियो।

सम्बन्धित समाचार

सबै