‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुने

0 Shares

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते (अक्टोबर ९) नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शनिबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

फिल्मको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट फिल्मका कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुने जनाइएको छ।

संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको फिल्ममा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता तथा निर्माता संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ।

फिल्मलाई भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको निर्माण टिमले जनाएको छ।

सार्वजनिक पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङ देखाइएको छ। सुरुङभित्र केही पात्र देखिन्छन् भने ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’लाई फिल्मको मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्म जम्बी तथा हरर कथामा आधारित रहेको संकेत गर्छ।

फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्।

फिल्ममा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा छन्। प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।

नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको फिल्मलाई नेपाल र भुटानमा प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी गरिएको छ। निर्माण टिमका अनुसार एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत फिल्म प्रदर्शन गर्ने योजना छ।

फिल्मको छायांकन दीर्घ गुरुङ र संगय टी. तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा छन्।

फिल्मको संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको हो। चर्चित संगीतकार तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन्। करण थामावोङले ध्वनि डिजाइन तथा पुनः रेकर्डिङ मिक्सिङ सम्हालेका छन्। रथाकोर्न थोङनुनले संवाद सम्पादन तथा फोलीको काम गरेका छन् भने दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको छ।

फिल्मको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.ली.ले गरेको हो भने सन्तोष कुमार कार्कीले व्यवस्थापन सम्हालेका छन्।

‘टनेल २६’को टिजर यसअघि अगस्ट १४ मा सार्वजनिक गरिएको थियो। निर्माण टिमका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकाका दर्शक र अन्तर्राष्ट्रिय वितरकको समेत ध्यान खिचेको छ।

निर्माण टिमले टिजरभन्दा ठूलो र प्रभावशाली ट्रेलर सार्वजनिक गर्ने जनाएको छ। सेप्टेम्बर २२ मा ट्रेलर सार्वजनिक भएपछि फिल्मको कथावस्तु र हरर संसारबारे थप जानकारी बाहिर आउने अपेक्षा गरिएको छ।

नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ तीन देशको सहकार्यमा निर्माण भएको आफ्नो किसिमको पहिलो फिल्म भएको निर्माण टिमको दाबी छ।

सम्बन्धित समाचार

सबै