निखिलको ‘आचार्य’को ट्रेलरले भारतमा पाइरहेछ यस्तो चर्चा !

0 Shares

काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्मित नेपाली फिल्म ‘आचार्य’को ट्रेलरले नेपालसँगै भारतमा पनि चर्चा पाएको निर्माणपक्षले जनाएको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरले भारतीय फिल्म पत्रकार, कलाकार र दर्शकको ध्यान खिचेको निर्माणपक्षको दाबी छ।

भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत ‘आचार्य’को ट्रेलरबारे प्रतिक्रिया सार्वजनिक गरिरहेका छन्। विशेषगरी दक्षिण भारतसहित अन्य भारतीय फिल्म उद्योगमा नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको निर्माणपक्षले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका प्रतिक्रिया तथा भिडियोमा नेपाली फिल्म पछिल्ला वर्षमा प्राविधिक र प्रस्तुतिका हिसाबले अघि बढेको उल्लेख गरिएको छ। केही भारतीय फिल्मकर्मी तथा दर्शकले नेपाली फिल्मलाई भारतीय फिल्मको अनुकरण गर्ने उद्योगका रूपमा मात्र हेर्न नहुने र आफ्नै पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा पुग्ने सम्भावना विकास भएको प्रतिक्रिया दिएका छन्।

कतिपय भारतीय समीक्षक तथा दर्शकले नेपाली फिल्म भारतीय फिल्मको प्रभावमा मात्र सीमित नरही भारतीय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने प्रयास गरिरहेको बताएका छन्। ‘आचार्य’को ट्रेलरलाई लिएर आएका प्रतिक्रियामा विशेषगरी एक्सन, प्रस्तुति, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको उपस्थितिको चर्चा गरिएको निर्माणपक्षले जनाएको छ।

भारतीय कलाकार रघुबाबुसहितका केही फिल्मकर्मीले भारतका विभिन्न स्टुडियो तथा प्रोडक्सन हाउसमा समेत ‘आचार्य’ र निखिल उप्रेतीबारे चर्चा भइरहेको बताएका छन्। उनीहरूका अनुसार नेपाली फिल्मप्रति भारतीय फिल्म उद्योगको चासो विस्तार हुँदै गएको छ।

एक समय भारतीय फिल्मको प्रभावमा नेपालमा फिल्म निर्माण हुने र भारतीय शैली पछ्याउने प्रवृत्तिको चर्चा हुने गरे पनि पछिल्लो समय नेपाली फिल्मले आफ्नै कथा, प्रस्तुति र शैली विकास गर्दै भारतीय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने प्रयास गरिरहेको भारतीय फिल्मकर्मी तथा पत्रकारहरूको प्रतिक्रियामा उल्लेख छ।

सीमित बजेट र तुलनात्मक रूपमा सानो घरेलु बजारबाट निर्माण हुने नेपाली फिल्मले प्राविधिक तथा प्रस्तुतिगत रूपमा ठूलो बजेटका भारतीय फिल्मसँग प्रतिस्पर्धा गर्ने क्षमता विकास गरिरहेको उनीहरूको धारणा छ। ‘आचार्य’को ट्रेलरप्रतिको प्रतिक्रियाले पनि नेपाली फिल्म उद्योगमा भइरहेको परिवर्तनलाई संकेत गर्ने उनीहरूले बताएका छन्।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ निखिल स्वयंले निर्देशन तथा अभिनय गरेका हुन्। ट्रेलरमा एक्सन, द्वन्द्व, भावनात्मक सम्बन्ध र सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मले आफ्नै बलमा अगाडि बढ्नुपर्ने र नेपाली दर्शकले नेपाली फिल्मलाई माया गर्नुपर्ने बताएका थिए।

यता, नेपालमा पनि ट्रेलर सार्वजनिक भएपछि ‘आचार्य’को एक्सन, निखिल उप्रेतीको कमब्याक शैलीको प्रस्तुति र फिल्मको निर्माणस्तरलाई लिएर चर्चा भइरहेको छ।

भारतमा समेत ट्रेलरले पाएको प्रतिक्रियाले नेपाली फिल्मप्रति छिमेकी मुलुकका दर्शक तथा फिल्मकर्मीको चासो बढिरहेको संकेत गरेको निर्माणपक्षको विश्वास छ।

‘आचार्य’ असोज ९ गतेदेखि नेपालसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै