काठमाडौं । दसैँको पारिवारिक माहोलसँगै आमाको पर्खाइ र आमा–छोराको सम्बन्धको कथा बोकेको फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक भएको छ।
३ मिनेट ३८ सेकेण्ड लामो टिजरमा पल शाह र मलिका महतलाई भावुक दृश्यमा प्रस्तुत गरिएको छ। कृष्णको भूमिकामा रहेका पलले मलिकालाई बोकेर हिँडिरहेको देखिन्छ। आमाको औषधि लिन अस्पताल पुगेका कृष्णको जीवनभर मलिकालाई बोकेर हिँड्ने संवादसँगै टिजरले सम्बन्ध र जिम्मेवारीको भावलाई अगाडि बढाएको छ।
आमाको फोन नउठाउनु र घर फर्किएपछि आमा सुतिरहेको देख्दा कृष्ण डराएको दृश्यले टिजरमा अर्को भावनात्मक तह थपेको छ। दसैँको जमरा, आमाको प्रतीक्षा र परिवारसँग जोडिएका संवेदनालाई फिल्मको मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिएको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, आकाश श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय छ।
फिल्म असोज ३० गतेदेखि प्रदर्शनमा आउनेछ। आरआर फिल्म्सले नेपालमा वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो।