भगवान् शिवप्रति सांगीतिक अर्पण, भवानी राणाको ‘शिव ताण्डव’ सार्वजनिक

0 Shares

काठमाडौं । व्यावसायिक क्षेत्रमा स्थापित नाम भवानी राणा अब सांगीतिक प्रस्तुतिमार्फत पनि दर्शकमाझ आएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणाको स्वरमा रहेको ‘शिव ताण्डव’ पाटनमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो।

राणा र सरस्वती खत्रीको स्वर तथा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको ‘शिव ताण्डव’ भगवान् शिवप्रतिको आस्था र सांस्कृतिक भावसँग जोडिएको छ। आइतबार साँझ पाटन संग्रहालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यसको औपचारिक विमोचन गरे।

राणाले ‘शिव ताण्डव’लाई भगवान् शिवप्रति समर्पित विनम्र प्रार्थनाका रूपमा व्याख्या गरिन्। उनले नेपालले भोगिरहेको प्राकृतिक विपत्तिका बीच यो सिर्जनाले आशा, शक्ति र शान्तिको सन्देश दिन सकोस् भन्ने आफ्नो चाहना रहेको बताइन्।

साउनमै सार्वजनिक गर्ने योजना रहे पनि त्यतिबेला सम्भव नभएको राणाले बताइन्। उनका अनुसार अहिलेको समयमा यो सिर्जना सार्वजनिक हुनुलाई उनले विशेष अर्थका रूपमा लिएकी छन्।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले गीतले नेपाल–भारतको सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप बलियो बनाउन सक्ने बताए। उनले राणाको व्यावसायिक योगदानसँगै सांस्कृतिक क्षेत्रमा देखाएको रुचिको पनि प्रशंसा गरे।

‘शिव ताण्डव’को भिडियो विकास सुबेदीको निर्देशन र शिलन लम्सालको सम्पादनमा तयार भएको हो। भिडियोमा राणा र सरस्वती खत्री स्वयं देखिएका छन्।

कार्यक्रममा श्वेता खड्का, उपेन्द्र महतो, रविभक्त श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो।

 

सम्बन्धित समाचार

सबै