काठमाडौं । प्रदर्शनको तयारीमा रहेको निखिल उप्रेती स्टारर फिल्म ‘आचार्य’को ट्रेलरले अन्तर्राष्ट्रियस्तरमा दर्शकको ध्यान तानेको छ। निर्माण पक्षका अनुसार ट्रेलर नेपालमा नम्बर १ ट्रेन्डिङमा रहँदा १२ अन्य देशमा समेत ट्रेन्डिङमा आएको छ।
‘आचार्य’को ट्रेलर नेपालसँगै यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया र दक्षिण कोरियामा ट्रेन्डिङमा आएको जनाइएको छ।
ट्रेलर सार्वजनिक भएपछि विशेषगरी निखिल उप्रेतीको एक्सन अवतारलाई लिएर दर्शकको चासो देखिएको छ। सामाजिक सञ्जालमा फिल्मको एक्सन, कथा र प्राविधिक प्रस्तुतिसँगै निखिलको भूमिकालाई लिएर प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।
लामो समयपछि निखिललाई एक्सनप्रधान भूमिकामा पर्दामा हेर्न पाउने भएपछि उनका फ्यानहरू पनि फिल्मको प्रतीक्षामा छन्। ट्रेलरमा एक्सनका साथै पारिवारिक र सामाजिक कथावस्तुको संकेत गरिएको छ।
नेपालबाहिर रहेका नेपाली दर्शकमाझ पनि ‘आचार्य’को चर्चा बढेको निर्माण पक्षले जनाएको छ। विभिन्न मुलुकमा रहेका नेपाली दर्शकले सामाजिक सञ्जालमा ट्रेलर हेरेर प्रतिक्रिया जनाइरहेका छन्। भारतमा समेत फिल्मको ट्रेलरलाई लिएर फिल्म पत्रकार, कलाकार तथा दर्शकमाझ चर्चा भइरहेको बताइएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताएका थिए।
निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मको निर्देशनसमेत उनले नै गरेका हुन्। ‘आचार्य’ असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ।
