काठमाडौं । नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म **‘बाकस’**मा भोलाराज सापकोटा र सुपला सापकोटाको प्रवेश भएको छ। निर्माण पक्षले दुवै कलाकारलाई अनुबन्ध गरेसँगै फिल्मको छायांकन दसैंपछि सुरु गर्ने तयारी गरेको हो।
निर्देशक पन्तका अनुसार फिल्मका लागि कलाकारहरूको टोली लगभग पूरा भइसकेको छ। केही कलाकार र प्राविधिकको छनोट भने अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
पन्तले सबै तयारी छिट्टै पूरा गरेर दसैंपछि छायांकनमा जाने बताए। यसअघि फिल्ममा बिपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्।
सुजिता चौलागाईंको निर्माणमा बन्ने ‘बाकस’मा छत्रबहादुर खड्का सह–निर्माता तथा धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
फिल्मको संगीत दीपक शर्मा र सनम पुरुष राईले तयार गर्नेछन्। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक नबिन पन्तको सहभागिता रहनेछ। मनि तामाङ मुख्य सहायक निर्देशक, किरण दाहाल द्वन्द्व निर्देशक र निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।
फिल्मको कथा र अन्य विषयवस्तुबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। ‘बाकस’को प्रदर्शन मिति पनि हाललाई तय गरिएको छैन। छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ।
