‘ल्याङ्ग ल्याङ्ग’ छायांकनमा

0 Shares

काठमाडौं । युवापुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र मनोविज्ञानलाई कथाको आधार बनाइएको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको औपचारिक सुरुवात भएको छ। बलिराम चौहानको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभ मुहूर्त गरिएको हो।

शुभ मुहूर्तमा निर्देशक चौहान र निर्माता भोलानाथ कटुवालसँगै फिल्मका अधिकांश मुख्य कलाकार सहभागी थिए। फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिए।

३५ दिनको छायांकन तालिका रहेको फिल्म काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा खिचिनेछ।

स्काइफल पिक्चर्सको ब्यानरमा बन्ने फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ हो। युवाहरूले आफ्नो दैनिकीमा साथीभाइको किचकिच, अनावश्यक दबाब तथा एउटै विषयमा दोहोरिरहने तनावलाई जनाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई फिल्मले शीर्षकका रूपमा लिएको छ।

निर्देशक चौहानले फिल्ममार्फत युवापुस्ताको समसामयिक जीवन, उनीहरूको सोच र मनोवैज्ञानिक अवस्थालाई प्रस्तुत गर्ने बताए। उनका अनुसार फिल्मले विशेषगरी जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथालाई पर्दामा ल्याउनेछ।

‘ल्याङ्ग ल्याङ्ग’मा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारले अभिनय गर्नेछन्।

बलिराम चौहान र उपाश्री खतिवडाको कथा रहेको फिल्म भोलानाथ कटुवालको लगानीमा निर्माण हुनेछ। रवी रोक्का छायाकार रहेको फिल्ममा अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत रहनेछ।

महेश मगर प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, साश्वत श्रेष्ठ बीजीएम तथा मित्र डी गुरुङ सम्पादकका रूपमा फिल्ममा जोडिएका छन्।

सम्बन्धित समाचार

सबै