विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक भएको छ । करिब दुई मिनेटको टिजरमा फिल्मको कथा भन्दा एक्सनलाई केन्द्रमा राखिएको छ । टिजरमा लगातार गोलीबारी, किक र फाइटका दृश्य समेटिएका छन् ।
विराजको भ्वाइस ओभरबाट सुरु हुने टिजरमा उनका छोरा समीर भट्टका एक्सन दृश्यलाई विशेष स्थान दिइएको छ । तर टिजरको सबैभन्दा महत्वपूर्ण दृश्यमा भने विराज र समीर एकसाथ देखिन्छन् । दुई शक्तिबीचको संघर्षका रूपमा प्रस्तुत गरिएको उक्त दृश्यले युद्धको अन्त्य दुईमध्ये एकको समाप्तिबाट हुने संकेत गर्छ ।
टिजरको यो प्रस्तुतिले फिल्ममा विराज र समीरबीचको संघर्षलाई मुख्य कथ्यका रूपमा अगाडि बढाइएको हुन सक्ने संकेत गरेको छ । यद्यपि, निर्माण पक्षले फिल्मको कथावस्तुका अन्य पक्षलाई टिजरमा गोप्य नै राखेको छ ।
असोज ३० गतेबाट प्रदर्शन हुने फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्यलगायत कलाकार छन् । सरस्वती भट्ट फिल्मकी निर्माता हुन् ।
महेश पौडेल डीओपी रहेको फिल्ममा राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा सन्तोष सरकारको लेखन छ । स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । कालाचरणको बीजीएम र गीता गुरप्पाको ध्वनि संयोजन रहेको फिल्म २०८१ मा प्रदर्शन भएको ‘१२ गाउँ’को सिक्वेल हो ।