‘टनेल २६’को २५ प्रतिशत ग्रस आम्दानी विपद् कोषमा, ‘टनेल २६’को आम्दानीको २५% विपद् कोषमा

0 Shares

नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको फिल्म ‘टनेल २६’को ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री विपद् कोषलाई प्रदान गरिने भएको छ।

फिल्मका निर्माता तथा मुख्य कलाकार सङ्गे छेल्ट्रिमले आफ्नो सेयरबाट फिल्मको कुल ग्रस आम्दानीको २५ प्रतिशत रकम प्रधानमन्त्री विपद् कोषमा प्रदान गर्ने जानकारी दिएका हुन्। उनका अनुसार फिल्ममा उनको ५० प्रतिशत सेयर रहेको छ र त्यसको आधा रकम कोषमा जानेछ।

उनले यो रकम फिल्मको नाफाबाट नभई कुल ग्रस आम्दानीको २५ प्रतिशत हुने स्पष्ट पारे। नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीबाट आफूहरू पनि दुःखी भएको उल्लेख गर्दै उनले भुटानका राजाले यसअघि सहयोग गरिसकेको र आफूले पनि व्यक्तिगत तथा ‘टनेल २६’को तर्फबाट सहयोग गर्न चाहेको बताएका छन्।

यसैबीच, ‘टनेल २६’का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन्। भेटमा गृहमन्त्री गुरुङले फिल्म टोलीलाई सफलताको शुभकामना दिँदै फिल्मलाई नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने परियोजनाका रूपमा चर्चा गरे।

गृहमन्त्री गुरुङले फिल्मको कथालाई सुरुङभित्र मानिसहरू फसेका पछिल्ला घटनासँग जोड्दै कठिन परिस्थितिमा फसेका मानिसहरूको संघर्ष र बाँच्नका लागि गरेको प्रयासले फिल्मको विषयवस्तुको महत्व थप देखाउने बताए।

उनले हिमाली तथा पहाडी क्षेत्रमा कमजोर पूर्वाधार, भ्रष्टाचार, बेवास्ता तथा नैतिकता र जिम्मेवारीको अभावका कारण नागरिकले समस्या भोग्नुपरेको धारणा पनि राखे।

असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा नेपालको तर्फबाट अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले निर्माणमा सहकार्य गरेका छन्। प्रदीप क्रिएटिभ निर्माताका रूपमा रहेका छन्।

‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। फिल्ममा सङ्गे छेल्ट्रिमसँगै अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै