दर्शकको साथले ‘हली’को ५१औँ दिन पूरा

0 Shares

काठमाडौँ । छाउपडी प्रथाको विकृति र सामाजिक कुसंस्कारको कथा प्रस्तुत गरेको नेपाली फिल्म ‘हली’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ।

साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मले ५१औँ दिन पूरा गरेको अवसरमा शनिबार धनकुटास्थित ‘धनकुटा सिनेमा प्रालि’मा विशेष कार्यक्रम गरेको हो।

कार्यक्रममा दर्शकसँग भेटघाट तथा साक्षात्कार गर्न निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारको टोली धनकुटा पुगेको थियो।

निर्माता गुरुङले दर्शकको माया र साथका कारण फिल्मले ५१औँ दिन पूरा गर्न सफल भएको बताइन्। दर्शकलाई प्रत्यक्ष धन्यवाद दिन र खुसी साटासाट गर्न धनकुटा आएको उनको भनाइ छ।

ओमप्रतिकको लेखन तथा निर्देशन रहेको ‘हली’ले ‘एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ’ भन्ने सन्देश प्रस्तुत गरेको छ। फिल्ममा छाउपडी प्रथाअन्तर्गत महिलाले २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्न नहुनेजस्ता अन्धविश्वास र सामाजिक कुसंस्कारलाई कथाको विषय बनाइएको छ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी रहेको फिल्ममा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायतका कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै